हिरासतमा रहेका अभियुक्तको शंकास्पद मृत्यु
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक अभियुक्तको शंकास्पद मृत्यु भएको छ ।
लागूऔषध कारोबारको आरोपमा २ पुसमा पक्राउ परेका भारतीय नागरिक ३० वर्षीय सन्दीप शाहको हिरासतमै मृत्यु भएको हो ।
लागूऔषध नियन्त्रणमा ब्यूरो, पोखराले पक्राउ गर्दा उनको साथबाट २ हजार ९ सय ७० वटा औषधिजन्य लागूऔषध बरामद भएको थियो ।
कास्की प्रहरी स्रोतका अनुसार उनले हिरासत कक्षभित्रै विष सेवन गरेका थिए । शाहले बिहान ४ बजे विष सेवन गरेर बान्ता गर्न सुरु गरेपछि हल्लीखल्ली मच्चिएको प्रहरीले जनाएको छ ।
‘बान्ता भएको केही समयमै अस्पताल लगियो,’ प्रहरी भन्छ, ‘अस्पताल लगिसकेपछि पनि केहवेर कुरा गरेका थिए । तर, उपचारका क्रममा उनको मृत्यु भयो ।’
शाहले सेवन गरेको विष हिरासत कक्षभित्र कसरी पुग्यो भन्ने विषयमा पनि प्रश्न उठेको छ । यो विषयको खोजी गरिरहेको प्रहरीले एक जना प्रहरी अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ ।
स्रोतका अनुसार तिनै प्रहरीमार्फत विष हिरासत कक्षसम्म पुगेको आशंका गरिएको छ ।
बिहीबार बिहानै मृत्यु भए पनि हालसम्म साहको पोस्टमार्टम हुन सकेको छैन । पोष्टमार्टमका लागि मृतकका आफन्तले जाहेरी दिनुपर्छ ।
परिवारका सदस्य आइनसकेको कारण उनको पोष्टमार्टम हुन नसकेको हो । हाल उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा राखिएको छ ।
प्रतिकृया दिनुहोस