१०२ वर्षको उमेरमा यस्तो फुर्ति, दैनिक आम्दानी चार सय

102

काठमाडौ‌ । उमेर १०२ वर्ष दैनिक ६ घण्टा कम्तीमा खटाइ । उनको लगन, खटाइ र स्फूर्ति देखेर सबै चकित पर्छन्।

उनी हुन्– धनकुटाको महालक्ष्मी नगरपालिका–७ मारेक टोलका ओमनारायण श्रेष्ठ । सय कटेका उनी आफैं कमाइ गर्छन्, सीपमूलक काम गरेर । गाउँठाउँका अरूलाई पनि सिकाउँछन् ।

सात दशकअघि बनेको झुप्रे घरभित्र हँसिलो चेहरामा भेटिन्छन् उनी । भलाकुसारी गर्दा लाग्छ– सन्तुष्ट भएकैले दीर्घजीवी छन्।

विसं १९७४ मा जन्मिएका उनले दुई महिनाअघि १०१ वर्ष पार गरे । १० मिनेटभन्दा बढी समय लगातार मुरली बजाउन सक्छन् । रमाइला श्लोक र कविताको भाका हाल्न उत्तिकै खप्पिस छन्।
उनको अर्को विशेषता हो– गाउँबस्ती र बजार आसपास फालिएका प्लास्टिकका सामग्री जुटाएर दाम्लो बनाउनु । त्यसलाई बेचेर राम्रै कमाइ गरिरहेका छन् । खेर गएका वस्तु सदुपयोग र कमाइ पनि हुने भएकाले यो काम गरेको उनको भनाइ छ।

उनीकहाँ दाम्लो किन्न टाढाबाट समेत मान्छे आउँछन् । अर्खौले जितपुरमा लाग्ने साप्ताहिक शुक्रबारे हाटमा पनि दाम्लो बेचेर आफूलाई चाहिने सामानको गर्जो टर्ने गरेको उनले सुनाए।

घरबाट करिब एक किमि दूरीको हाटमा सामान बेचेर हप्ताको ७ सय रुपैयाँ कमाउँछन् श्रेष्ठ । ‘मन लागेको खानेकुरा र लुगा किन्न आफ्नै कमाइले पुग्ने गरेको छ,’ उनले भने, ‘मलाई पटक्कै अल्छी लाग्दैन, बरु केही काम नगरी बस्दा मात्र बेस्सरी अल्छी लाग्छ ।’

दैनिक ८ वटा दाम्लो बनाउँछन्, प्रतिगोटा ५० रुपैयाँ पर्छ । राम्ररी सुन्न, बोल्न सक्ने उनी लौरोको सहारामा दैनिक दुई किलोमिटर हिँडडुल गर्छन् ।

घरनजिकै बसोबास गर्ने छोराबुहारीले उनको रेखदेख गर्दै आएका छन् । अहिलेसम्म कुनै ठूलो बिमार नलागेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ आफ्नो काममा यत्ति व्यस्त हुन्छन् कि अरूले आराम गर्न कर गर्नुपर्ने बुहारी मनमायाले बताइन्। ‘बुवालाई यो उमेरमा पनि आराम गर्नु भन्न बाध्य हुनुपर्छ,’ उनले भनिन्, ‘बरु हामी काम गर्दा थाक्छौं, उहाँ थाक्नुहुन्न ।’

८० वर्ष पहिले दार्जिलिङमा चिया कमानमा काम गरेका उनी त्यसअघि केही समय धनकुटा बजारको ५२ ढोके दरबारमा चौकीदार रहे । सामाजिक काममा पनि उत्तिकै रुचि राख्छन् । अघिल्लो वर्ष १०१ वर्ष प्रवेश गर्दा उनले स्वास्थ्य उपचार केन्द्रलाई कुर्सी उपहार दिए, आफ्नै कमाइबाट । (कान्तिपुर)

प्रतिकृया दिनुहोस

साताको लोकपृय