राष्ट्रियसभा नियमावली सर्वसम्मतिले पारित
काठमाडौं । फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने गरि राष्ट्रियसभा नियमावली, २०७५ सर्वसम्मत पारित भएको छ ।
राष्ट्रियसभाको आईतबार बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो नियमावली पारित गरियोस् भनि प्रस्ताव राखेका थिए । सो प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेश गरेलगत्तै सर्वसम्मतिले पारित गरिएको हो ।
फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदह?लाई निलम्बन नगर्ने पक्षमा सबै दलको सहमति भएपछि नियमावली सर्वसम्मतिले पारित भएको हो । नियमावलीमा फौजदारी अभियोग लागेका सांसदहरुको सेवा, सुविधा भने कटौति हुने स्पष्ट पारिएको छ ।
नियमावलीमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई संघीय कानुन बनाएर कार्वाही गर्ने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सभापति गुरुङले बताए । उनले फौजदारी अभियोग लागेका सांसदहरुलाई कार्वाही गर्ने व्यवस्था कानुनमै उल्लेख गर्न उपयुक्त हुने कुरामा संसदमा सहमति जुटेको पनि स्पष्ट पारे ।
यसअघि प्रतिनिधि सभाबाट शुक्रबार प्रतिनिधि सभा नियमावली बहुमतले पारित भएको थियो । प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले मात्र विक्षमा मतदान गरेका थिए ।
प्रतिकृया दिनुहोस