७४ हजार दिए कोरिया भाषाको परिक्षा, असार १६ मै नतिजा आउने
काठमाडौं । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजारभन्दा बढी युवा सहभागी भएका छन् ।
दक्षिण कोरियामा कामदार पठाउन शनिबार र आइतबार सञ्चालन भएको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ७५ जान परीक्षार्थी सहभागी भएका हुन् ।
कोरियन भाषाका लागि गत चैतमा आवेदन दिएका ८२ हजार २ सय ६४ जनामध्ये परीक्षामा ७ हजार ३ सय ८ जना अनुपस्थित भएका थिए ।
परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गरिने वैदेशिक रोजगार इपिएस काठमाडौं शाखाले जनाएको छ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय लाग्दैन ।
यो वर्ष कोरियाले ७ हाजर १ सय नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरेको छ ।
नक्कली परीक्षार्थी पक्राउ
प्रहरीले विभिन्न परीक्षा केन्द्रबाट गरी २ सय ४७ जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।
पक्राउ परेका परीक्षार्थीलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउनेगरी थुनामा राखेको छ ।
अरुको नाममा परीक्षा दिन आएका ती व्यक्तिले इपिएस नियमअनुसार आगामी तीन वर्षसम्म कोरियामा रोजगारीका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउने छैनन् ।
प्रतिकृया दिनुहोस