बलात्कार आरोपमा सशस्त्र प्रहरी जवानलाई १० वर्ष कैद
कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो ।
तत्कालीन अवस्थामा सशस्त्र प्रहरी बल चन्द्रौटामा कार्यरत अवस्थीबाट पीडित महिलालाई रु एक लाख क्षतिपूर्ति भराउनेसमेत अदालतको फैसला छ ।
अदालतका श्रेस्तेदार डिल्लीराज शर्माअनुसार मुलुकी ऐन जबर्जस्ती करणी ३ (५) अनुसार पाँच वर्ष कैद तोकिएको छ । सोही महलको ३ (क) अनुसार शारीरिकरुपमा अस्वस्थ देखिएको महिलालाई करणी गरेकोमा थप पाँच वर्ष कैद सजाय गरिएको हो ।
यस्तै सो मुद्दाका अर्का अभियुक्त प्रहरी राजु थारुलाई तीन वर्ष कैद तोकिएको छ । थारुले करणीमा अवस्थीलाई मद्दत गरेको पाइएको श्रेस्तेदार शर्माले बताए ।
२०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले करणी गरेका थिए ।
पीडित महिलाले औलाको इसाराले अवस्थी र थारुतर्फ इसारा गरेकी थिइन् । घटनाको विरोधमा स्थानीयवासी आन्दोलित भएपछि अवस्थीलाई प्रहरीमा बुझाइएको थियो । ती महिलाको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ
प्रतिकृया दिनुहोस