छापा मार्नुअघि कसरी फरार भए अग्रवाल ?
काठमाडौं । पछिल्ला समयमा सुन प्रकरण प्रहरीको टाउको दुखाईको विषय बनिरहेको छ । एकपछि अर्काे गर्दै सुन प्रकरणमा संलग्न पक्राउ पनि परिरहेका छन् ।
तर, केहीलाई भने आफु पक्राउ पर्दैछु भन्ने पहिल्यै थाहा हुन थालेको छ । त्यसको पछिल्लो उदाहरण बनेको छन् अनामनगरका मोहनकुमार अग्रवाल ।
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । तर, उनी प्रहरीले ३८ क्वीन्टल सुनको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए ।
प्रकरणको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान समितिले शुक्रबार उनको घरमा छापा मार्दा ३० लाख रुपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन भेटाएको छ । प्रहरीले उनको घरमा रहेको बा १० च २८२ नम्बरको गाडीसहित अन्य केही महत्वपूर्ण कागजातहरु यिन्त्रणमा लिएको छ ।
प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले साँढे ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका थिए ।
‘साढे ३३ किलो सुनमा मोहन अग्रवाल ‘एमके’ले लगानी गरेका थिए’, जिल्ला अदालत मोरङमा पेश भएको अभियोग पत्रमा उल्लेख गरिएको भुजुङको बयानमा भनिएको थियो, ‘त्यसको कमिसन मैले पनि पाउँथे ।’
गुरुङलाई गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको समितिले बयान लिएको थियो ।
प्रतिकृया दिनुहोस