फेवातालमा वेपत्ता युवकको शव भेटियो
पोखरा । गत जेठ १३ गते फेवातालमा वेपत्ता एक युवा १० दिनपछि मृतावस्थामा भेटिएका छन् ।
जेठ १३ आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा वेपत्ता भएका रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा तालको बीच भागमै डुबेका थिए ।
उनको शव झण्डै कुहिन लागिसकेको अवस्थामा बुधबार मध्यान्ह फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए । सुप्रिलका हजुरबुबा एक हप्तासम्म केहि पत्तो नलागेपछि पोखराबाट फर्केका थिए । डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेको थियो । फेवातालको शिर भागतिर गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने डिएसपी कार्कीले बताए ।
१८ वर्षीय सुप्रिल लामासहित सिन्धुली घर भई सोहि ठाउँ बस्ने १८ वर्षीय बिशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, सो ठाउँका १७ वर्षीय शुशिल कुँवर र काठमाण्डौ सितापाईला घर भएका १७ वर्षीय अनिल रोक्का सहित ५ जना पोखरा आएका थिए ।
फेवाताल घुम्ने क्रममा डुंगामै चट्याङ परेपछि सुप्रिल डुबेका थिए । साथीहरुले बचाउने प्रयास गर्दा समेत लाइफ ज्याकेटको तुना नबानेका कारण सुप्रिललाई तान्न खोज्दा पानीबाट तान्न नसकेको उनीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस