घट्ने भयो मन्त्रालय मातहतका विभाग, ६४ बाट ५४ मा खुम्चिँदै
काठमाडौं । सरकारले ६४ वटा विभागलाई खुम्च्याएर ५४ मा सीमित गर्ने भएको छ ।
यसअघि सरकारका विभिन्न मन्त्रालयका ६४ वटा विभाग थिए । संघीय संरचनामा केन्द्रीय मन्त्रालयका विभागहरु घटाएर २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर ५४ वटा मात्र विभाग बनाउन लागिएको छ ।
प्रहरी किताबखाना र विद्यालय–शिक्षक किताबखानालाई निजामति किताबखानामा, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रसहित तीन विभागलाई गाँभेर राष्ट्रिय शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइनेछ ।
घरेलु तथा साना उद्योगलाई उद्योग विभागमा, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागलाई वाणिज्य विभागमा, जल उत्पन्न प्रकोप विभागलाई सिँचाइ विभागमा, भू–सूचना तथा अभिलेख विभागलाई भूमि व्यवस्थापन विभागमा, यान्त्रिक तालिम केन्द्रलाई सडक विभागमा, भू तथा जलाधार संरक्षण विभागलाई वन विभागमा गाँभिने छन् ।
यसरी नयाँ बनाइएका विभागको स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने र सो बैठकले स्वीकृत गरेपछि मात्र लागू हुनेछ ।
प्रतिकृया दिनुहोस