स्थानीय तहक बजेट जति सडकमै खर्च
जाजरकोट । जुनीचाँदे गाउँपालिकामा सडक यातायातको पहुँच छैन । उक्त गाउँपालिकाको सिमानासम्म जोड्न १० किमी मात्रै बाटो खन्न बाँकी छ ।
जुनीचाँदे गाउँपालिकाले चालू आर्थिक वर्ष सडक निर्माणमा २ करोड ५० लाख खर्चंदै छ । गाउँपालिका क्षेत्रभित्रका १४ वटा सडक निर्माणका लागि बजेट खर्च हुने भएको हो ।
बारेकोट गाउँपालिकाको सिमानासम्म सडक पुग्न २० किलोमिटर छ । बारेकोटले पनि गाउँपालिका क्षेत्रभित्रका दुईवटा सडक निर्माणका लागि डेढ करोड खर्च गरेको छ ।
त्यस्तै चालू आर्थिक वर्षमा शिवालय गाउँपालिकाले १४ वटा सडक निर्माण तथा स्तरोन्नतिका लागि रु साढे तीन करोड, कुशे गाउँपालिकाले १० वटा सडक निर्माणमा ३ करोड, भेरी नगरपालिकाले चार दर्जन सडकका लागि साढे ५ करोड खर्चंदै छ ।
ती गाउँ र नगरपालिकाले चालू आवमा सडक निर्माणमा आधाभन्दा बढी बजेट खर्च पनि गरिसकेका छन् । जिल्लाका बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकालाई सडक सञ्जालले छोएको छैन । यिनीहरूमात्र होइन, जिल्लाका सातवटै स्थानीय तहले सडक निर्माणमा मोटो बजेट खर्चंदै आएका छन् ।
ती स्थानीय तहले महिला तथा बालबालिका, स्वास्थ्य, कृषि तथा पशु, सूचना सञ्चार, उद्योग, ऊर्जालगायत शीर्षकलाई बेवास्ता गर्दै सडक निर्माणमा मात्र ठूलो बजेट छुट्याएका हुन् ।
चालू आव जस्तै विगतमा दर्जनौँ सडक निर्माण भएका छन् तर ती सडकमा यातायात सञ्चालन योग्य छैन । जाजरकोटमा निर्माण भएका आधा दर्जन सडकमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । विगतका वर्षमा विभिन्न निकायबाट निर्माण भएका १ सय ग्रामीण सडक प्रयोगविहीन छन् । पछिल्लो समय जाजरकोटका सातवटै स्थानीय तहमा व्यापक मात्रामा सडक निर्माण हुँदै आएका हुन् ।
यसैगरी सात स्थानीय तहमा १ सयभन्दा बढी सडक डोजरले खन्ने काम भइरहेको छ । जाजरकोटमा लाखौँ खर्चेर सडक खन्ने तर १० वर्षसम्म गाडी नगुडाउने प्रचलनको विकास भएको छ । कतिपय सडक प्राविधिक रूपले नक्साङ्कन नगरिनुका साथै वातावरणीय असर तथा सडक निर्माण मापदण्डविपरीत निर्माण भएका छन् ।
‘जथाभावी खनेर बनाएका सडकमा बस गुड्ने त परैको कुरा, ट्रयाक्टर र जिपसमेत गुड्न सक्दैनन्’, आचार्यले भने । जाजरकोटमा करोडौँ बजेट खर्चेर निर्माण थालिएका १२१ सडक प्रयोगविहीन छन् ।
निर्माणमा ढिलासुस्ती हुँदा जाजरकोट–पाँचकाटिया–पैंक–ब्याउलीढुंगा–जुम्ला सडक, छेडा–चाँदे–जुम्ला सडक र जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडक अलपत्र छन् ।
डोजरले स्थानीयवासीको रोजगारी खोस्यो
जाजरकोटका सातवटै गाउँ र नगरपालिकामा डोजरले यतिबेला धमाधम सडक खन्ने काम गरिरहेका छन् । जाजरकोटमा सडक, कुलो, पुलको जग, घरको जगलगायत निर्माण गर्ने काममा डोजरकै प्रयोग हुने गरेको छ । निर्माण कार्य डोजरले गर्न थालेपछि यहाँका स्थानीय बासिन्दा भने बेरोजगार बनेका छन् ।
घरछेउमा सडक बनाउने, कुलो खन्नेलगायत काम गर्ने मौका नपाएपछि बेरोजगार स्थानीय कामको खोजीमा भारतीय श्रमबजार पुग्न बाध्य छन् ।
प्रतिकृया दिनुहोस