साउदी जेलबाट छुटे थानेश्वर
काठमाडौं । चार वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल सोमबार रिहा भएका छन्।
नवलपरासीको मध्यविन्दु नगरपालिका ८ का थानेश्वर वैदेशिक रोजगारीका क्रममा परिवन्धमा परी साउदीको जेलमा बस्न बाध्य थिए।
साउदीमा उनले गाडी चलाउँदै गर्दा उनको गाडी र अर्को गाडी ठोकिए संगै दुई गाडीसँग अर्को गाडी पनि आएर चेप्पिदा २ जनाको ज्यान गएको थियो । सो घटनामा साउदीको अदालतले थानेश्वरलाई दोषी ठहर गरी पीडित परिवारलाई १ लाख ५० हजार रियाल अर्थात ४५ लाख रुपैयाँ ब्लडमनी स्वरुप क्षतिपूर्ति भराउन आदेश दिएको थियो।
तर, सामान्य परिवारका थानेश्वरका लागि ४५ लाख रुपैयाँ ब्लडमनी तिर्न सम्भव नभएको कारणले सजाय भोगी रहेका थिए । उनको आमा यमकलाले छोरालाई छुटाउन विभिन्न संघसंस्थासँग गुहार गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि विदेशमा अलपत्र नेपालीको उद्धारमा क्रियाशील पीएनसीसीको संयोजनमा ‘थानेश्वर भुसाल बचाउ अभियान’ सुरु भएको थियो।
भुसाललाई जेलमुक्त गर्न प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले ४५ लाख रुपैयाँ रकम संकलन गरेको थियो। सोही रकम बुझाएर थानेश्वर जेलमुक्त भएका हुन्।
उनलाई जेद्दास्थित महावाणिज्य दूतावासमा ल्याएको छ। उनलाई अब डिपोर्टेशन सेन्टरमा पठाएर नेपाल फर्काउन अन्तिम प्रक्रिया पुरा गर्नुपर्नेछ। थानेश्वरसँगै नगेन्द्र लामा पनि जेलमुक्त भएका छन्।
प्रतिकृया दिनुहोस