सर्वोच्चले माग्यो ढुंगेललाई माफी दिने निर्णयको सक्कल
काठमाडौं । पूर्व सांसद बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाईल सर्वोच्चले मागेको छ ।
न्यायाधीशद्धय मिरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सोमबार ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाईल अदालतमा झिकाउन आदेश दिएको हो ।
सरकारी वकिलहरुले ढुंगेललाई कैद सजाय मिनाहा के कारणले गराउन खोजेको हो भन्ने थाहा पाउन नसकिएको बताएपछि महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता हुनेगरी त्यसको सक्कल फाईल अदालतमा पेश गर्न आदेश दिइएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।
सर्वोच्चले यससम्बन्धि बहस मंगलबार पनि जारी रहने जनाएको छ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलको बाँकी कैद सजाय मिनाहा गर्ने तयारी गरेपछि त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र ढुंगेललाई विपक्ष बनाई सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए । रिटमा ढुंगेलको कैद मिनाहाको निर्णय रोक्न अन्तरिम आदेश समेत माग गरिएको छ ।
प्रतिकृया दिनुहोस