प्रदेश प्रहरीको कमाण्ड डिआइजीको हातमा
काठमाडौ । गृह मन्त्रालयले सातै प्रदेशमा प्रहरीको नेतृत्व प्रहरी नायव महानिरीक्षक (डिआइजी)ले गर्ने गरी संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ ।
गृहले तयार परेको मस्यौदा पास भए सातवटै प्रदेशमा प्रदेश प्रहरी प्रमुख डिआइजी रहनेछन् । काठमाडौंस्थित महानगरीय प्रहरी आयुक्तको कार्यालय पनि डिआइजीकै कमान्डमा रहनेछ ।
त्यस्तै प्रहरीको कार्य विभाग र मानव स्रोत विभागमा पनि डिआइजी नै प्रमुख रहनेछन् । यसअघि सातवटै प्रदेश, कार्य विभाग, मानव स्रोत र आयुक्त कार्यालयमा प्रमुखका रूपमा एआइजीको दरबन्दी थियो ।
यस्तै, प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी घटाउने तयारी गरिएको छ । निर्माणाधीन संघीय प्रहरी ऐनको मस्यौदामा एआइजीको दरबन्दी चारजना मात्रै रहने व्यवस्था गरिएको हो ।
गृह मन्त्रालयका अनुसार निर्माणाधीन प्रहरी ऐनमा नेपाल प्रहरीको प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र र प्रहरी अस्पतालमा मात्रै एआइजीको दरबन्दी रहने भनिएको छ ।
यसअघि नेपाल प्रहरीमा एआइजीको दरबन्दी १६ थियो । निर्माणाधीन मस्यौदाअनुसार कानुन बने नेपाल प्रहरीमा १२ एआइजीको दरबन्दी कटौती हुनेछ ।
प्रदेश प्रहरी प्रमुखका रूपमा एआइजी खटाउने सरकारको निर्णयपछि तत्कालीन गृहमन्त्री जनार्दन शर्माको प्रस्तावमा सरकारले सात एआइजीको दरबन्दी थप गरेको थियो । त्यसपछि नेपाल प्रहरीमा एआइजीको दरबन्दी १६ पुगेको हो । त्यसअघि नौ दरबन्दी मात्रै थियो ।
प्रतिकृया दिनुहोस