न्यूनतम पारिश्रमिक निर्धारण समिति लाई पहिलो पटक पुर्णता
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई पूर्णता दिएको छ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटास्तरको गत वैशाख २८ को निर्णयअनुसार नेपाल पत्रकार महासंघको सिफारिशमा रिक्त तीन सदस्यको नियुक्तिसँगै समितिले पूर्णता पाएको हो ।
महासंघको सिफारिशमा श्रमजीवी पत्रकार ऐन, २०५१ को दफा ११ बमोजिम दुई वर्षका लागि नियुक्त पत्रकार केपी गौतम, दिलीपाश्री अधिकारी र राजु लामाले आज सञ्चारग्रामस्थित समितिको कार्यालयमा बहालीसहित बैठकमा सहभागी भए। उनीहरुलाई समितिका अध्यक्ष गंगाधर पराजुलीले स्वागत गरेका थिए।
कूल १३ सदस्य रहने समितिमा यसअघि कहिल्यै पनि पूर्ण सदस्य हुन नसकेको स्थितिमा पहिलो पटक पूर्णता पाएको सदस्य गौतमले जानकारी दिए। समितिले ऐनको कार्यान्वयनको अनुगमन र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सिफारिशसहित वार्षिक प्रतिवेदन तयार गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस