जन्मकैदको सजाय पाएका मेयर कुसवाह पक्राउ
रौतहट । हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुसवाह (फिरोज) पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको अनामनगरबाट मेयर कुसवाहलाई पक्राउ गरेको हो । मेयर कुसवाहलाई पक्राउ गर्न उच्च अदालतको वीरगन्ज कार्यालयले जिल्ला प्रहरी गौरलाई मंगलबार पत्र पठाएको थियो ।
उच्च अदालत जनकपुरको वीरगन्जस्थित अस्थायी इजलासले युवासंघ पर्साका अध्यक्ष तिवारीको हत्यामा दोषी ठहर गर्दै मेयर कुसवाहलाई फागुन २८ गते २० वर्ष जेल सजायको फैसला गरेको थियो । अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले फैसला सुनाएको हो ।
सरकारवादी फौजदारी मुद्दामा दोषी ठहर भई सजाय पाएका व्यक्तिले सरकारी कामकाजको जिम्मेवारी बहन गर्न नसक्ने कानुनी व्यवस्था भए पनि मेयर कुसवाह पदमै बसेर कामकाज गर्दै आएका थिए ।
वीरगन्जको अशोकबाटिकास्थित शिवपार्वती मन्दिर परिसरमा तत्कालीन हिन्दु युवासंघका अध्यक्ष तिवारीलाई मोटरसाइकलमा आएका व्यक्तिले २०६७ साल असार १२ गते गोली हानी हत्या गरेका थिए । मोटरसाइकल चालक बाराको हरैयाका अमन कुसवाह पक्राउ परेपछि मेयर कुसवाहको संलग्नता खुलेको हो ।
घटनापछि फरार कुसवाहलाई तीन वर्षपछि २०७० साल पुस १ गते चितवनको भण्डाराबाट पक्राउ गरी जिल्ला अदालत पर्सामा पेस गरिएको थियो । हत्यामा कुसवाहको संलग्नता नरहेको भन्दै अदालतले सफाइ दिएको थियो । जिल्ला अदालतले सफाइ दिन गरेको फैसला उल्टाई उच्च अदालतले उनलाई जन्मकैदको फैसला गरेको हो ।
प्रतिकृया दिनुहोस