काँग्रेस पराजय वाम गठबन्धनका कारण : पूर्वअर्थमन्त्री कार्की
इटहरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँंग्रेसले पराजय भोग्नुको मुख्य कारण वाम गठबन्धन भएको बताएका छन् ।
उनले मंगलबार सुनसरीको धरानमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले धरानमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदा उक्त कुरा बताएका हुन । उनले दुई कम्युनिष्ट पार्टी एक भएर चुनाव लड्नु र काँग्रेस चाहिँ दुई पार्टीजस्तो भएर चुनावी मैदानमा जाँदा निर्वाचनको परिणाम यस्तो आएको दाबीसमेत गरे ।
पार्टीका प्रभावशाली नेता कार्कीले विगतलाई सम्झेर अब नेपाली काँग्रेसले प्रजातन्त्र र संविधानको पूर्ण पालनासहित कार्यान्वयनमा जोड दिँदै पार्टीको विगतलाई सच्याएर नयाँ र वैज्ञानिक ढंगले अघि बढ्न जरुरी रहेको कुरामा समेत जोड दिए । उनले नेका अहिले पनि देशमा जनविश्वास प्राप्त पार्टी भएकाले आत्तिएर कमजोर अनुभूति नगर्न समेत उनले नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे ।
सोही अवसरमा प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले पार्टी छोडेर असहयोग गर्ने गैरकाँग्रेसीलाई समेत क्रियाशील सदस्यता वितरण भएको भन्दै यस्तो कार्यको अन्त हुनुपर्नेमा जोड दिएका छन् ।
उक्त कार्यक्रममा जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोलेले अब पनि आपसी तिक्तता, मनमुटाव, प्रतिशोध र असमझदारी त्यागेर मेलमिलाप, सहमति र सहकार्यको राजनीति नगर्ने हो भने काँग्रेसप्रतिको विश्वास घट्दै जाने बताए ।
प्रतिकृया दिनुहोस