पत्रकार सम्मेलनबाटै विप्लवका नेताहरु पक्राउ
तत्कार रिहा नगरे प्रतिरोध गर्ने चेतावनी
काठमाडौं । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्षसहित १२ जनलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको संवाद डबलीमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेमा महासंघका केन्द्रीय महासचिव गोकुल दाहाल, सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एलवि बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भिम अधिकारी, केशवबहादुर बुढा, विनोद सिर्पाइली, शिव परियार र नितु शाह रहेका छन्। पक्राउ पर्ने सबैलाई सिंहदरबार वृतमा राखिएको जनाइएको छ ।
गिरफ्तार गर्नुको कारणबारे प्रहरीले अहिलेसम्म औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन ।
तत्कार रिहा नगरे प्रतिरोध गर्ने चेतावनी
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव गोकुल दाहालले महासंघका अध्यक्ष अमर झाँक्रीसहित ११ जना केन्द्रीय नेताहरुलाई बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् ।
शान्तिपूर्ण आन्दोलनमा र सम्मेलन, भेलामा सहभागी भइरहेका मजदुर नेताहरुलाई हस्तक्षेप गरी गिरफ्तार गरेर सरकारले संविधानको धज्जी उडाउने काम गरेको महासचिव दाहालद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनेका छन् ।
शान्तिपूर्ण भेला, सम्मेलन, संगठन विस्तार गर्ने र राजनीतिक विचार राख्न पाउने स्वतन्त्रताको ग्यारेन्टी उनीहरुकै जारी गरेका संविधानमा व्यवस्था भएपनि वर्तमान सामाजिक दलाल सरकारले उक्त संवैधानिक व्यवस्थाको धज्जी उडाँउदै गरेको गिरफ्तारी एवं हिरासतमा कार्यको हाम्रो संगठन घोर भत्सर्ना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
‘गिरफ्तार गरिएका केन्द्रीय अध्यक्ष अमर झाँक्रीलगायत सबै कमरेडहरुलाई बिना सर्त यथाशीघ्र रिहा गर्न जोडदार माग गर्दछौं’ दाहालले भनेका छन् । सरकारले अपरहण शैलीमा नेताहरुलाई गिरफ्तार गरेको भन्दै उनीहरुलाई तत्काल रिहा नगरिए प्रतिरोधी संघर्ष चलाउन बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।
प्रतिकृया दिनुहोस