मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त
म्याग्दी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाईको मुक्तिनाथ भ्रमणलाई लक्षित गरि मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ ।
नेपालको दुईदिने राजकीय भ्रमणमा आउने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ । उनकोे सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवं बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष इन्द्रधारा विष्टले जानकारी दिए ।
‘हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथमा आउने उनी नै उच्च विदेशी पाहुना हुनेछन, यसले मुक्तिनाथको प्रचार विश्वव्यापी हुनेछ’, उनले भने, ‘त्यसैले उहाँको सम्मानमा हामीले कुनै कन्जुस्याइँ गर्दैनौँ ।’
मोदीलाई मुक्तिनाथ क्षेत्रको मौलिक कला संस्कृति देखाउने तयारीसमेत भइरहेको उनले बताए । ‘तर, यी कुराहरु उनको समयअनुसार हुन्छ, हामीले तयारी भने गरेका छौँ’, विष्टको भनाइ थियो ।
काठमाडौँबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पूजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अतिविशिष्ट कक्ष तयार, १ सय ८ धारा, शौचालयको सरसफाइ र हेलिप्याड निर्माण गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । मोदीको स्वागतका लागि मुक्तिनाथ गाउँ र मन्दिर प्रवेशद्वारमा विशेष गेट बनाइएका छन् ।
वैशाख २९ गते हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पूजापाठ गर्नेछन । पूजापाठ अघि नै उनलाई नागरिक अभिनन्दनको तयारी भइरहेको छ । उच्च विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सिमाना घाँसा, मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ ।
‘ वैशाख २८ र २९ गते बेनी–जोमसोम सडक र मनाङको सिमाना थोराङ पास बन्द हुनेछ । मुस्ताङको मार्फादेखि कागबेनीसम्मका होटलमा दैनिक पाहुनाको विवरण लिने काम पनि भइरहेको छ’, प्रजिअ पौडेलले भने, ‘दैनिकरुपमा सुरक्षा समितिको बैठक बस्ने गरेका छौँ ।’
मन्दिरमा विशिष्ट पाहुना आउँदा पूजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
‘हाम्रो देशका प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म यहाँ आएर पूजा गरेका थिए । अहिले भारतीय प्रधानमन्त्री आउने भएपछि उनलाई सम्पूर्ण विधि विधान पु¥याएर पूजापाठ गराउनेछौँ’, उनले भने, ‘मन्दिरभित्र उनलाई बटुकले स्वागत र सम्मान दिनेछन् ।’
प्रतिकृया दिनुहोस