महिलामाथिको हिंसा न्यूनीकरणका लागि संयन्त्र बनाउन मन्त्री थापाको जोड
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तहले विशेष संयन्त्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिपति महिला उत्थान’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले स्थानीय तहका जनप्रतिनिधि सचेत नभएसम्म हिंसाका घटना न्यूनीकरण हुन नसक्ने बताएकी हुन ।
मन्त्री थापाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारले यस्ता घटना नियमित भइरहेका स्थानमा सुरक्षा समिति बनाउनुपर्ने र स्थानीयवासीका लागि पनि सोहीअनुरुप जनचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याएकी छन् ।
उनले भनिन्, ‘महिला, बालबालिका र विशेष अवस्थाका महिलामाथि बलात्कार हुँदा अपराधीलाई मृत्युदण्ड नभई आजीवन कारागारको सजाय दिन सोहीअनुरुप कानून निर्माणको प्रक्रिया शुरु भएको छ ।’
बालबालिका मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले सबैजनाले आ–आफ्नो स्थानबाट हिंसा न्यूनीकरणका लागि प्रयास गर्ने हो भने यसका लागि छुट्टै कार्यक्रमको आवश्यकता नपर्ने बताइन ।
जिल्ला समन्वय समितिका अध्यक्ष श्याम सुन्दरराज वैद्यले देशले राजनीतिक रुपमा फड्को मारे पनि पितृ सत्ताका कारण महिलामाथि हुने हिंसामा कमी आउन नसकेको जानकारी दिए ।
भोलिसम्म सञ्चालन हुने उक्त कार्यक्रम निशा बानियाँले ‘लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका’, पेम्मा लामाले ‘लैङ्गिक समानताको अवधारणा’ र महिला बालबालिका विभागका प्रतिनिधिले ‘लैङ्गिक हिंसा निवारणमा सरकारको प्रयास’ का विषयमा कार्यपत्र प्रस्तुत गरिन ।
प्रतिकृया दिनुहोस