नारायणगढ–मुग्लिन सडक ३१ ठाउँमा पहिरोको जोखिम
'सामान्य वर्षामै यातायात अवरुद्ध'
चितवन । शनिबार परेको सामान्य वर्षाले नारायण्गढ–मुग्लिन सडक खण्डको चोरखोलामा पहिरो जाँदा एक घण्टा यातायात अवरुद्ध भयो । निर्माणाधीन सो सडकमा वर्षासँगै पहिरो खस्न थालेपछि वर्षादमा के हुने हो भन्ने चिन्ता बढेको छ ।
आयोजनाका डिभिजनल इन्जिनियर (डीई) गोविन्द खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डमा ३१ ठाउँ पहिरोको उच्च जोखिममा छन् । चोरखोलादेखि मुग्लिनसम्म पाँच किलोमिटरभित्रै १६ ठाउँमा पहिरो नियन्त्रण गर्नुपर्ने डीई खनालको भनाई छ ।
पहिरो नियन्त्रणको काम असारसम्म सक्ने गरी ठेक्का सम्झौता भएको उनले बताए । आयोजनाले गत महिनादेखि पहिरो नियन्त्रणको काम सुरु गरेको र यसमा १४ करोड रुपैयाँ खर्च हुने उनले जानकारी दिए ।
वर्षायाममा गत वर्ष ठाउँठाउँमा पहिरो जाँदा सो सडक लगातार ४३ घण्टासम्म ठप्पै भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सडक विस्तारको काम सुरु भएपछि सुक्खा पहिरोले दुईजनाको ज्यान लिएको छ । त्यस्तै वर्षायामको पहिरोमा परेर तीन प्रहरी र एक चालकको ज्यान गएको छ
विश्व बैंकको झन्डै तीन अर्ब रुपैयाँ ऋण सहयोगमा नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेनको बनाइँदै छ । सुरुमा दुई वर्षभित्र काम सक्ने गरी सम्झौता भएको थियो । तर, उक्त म्याद गत वर्ष नै सकिएको छ । त्यसपछि थपिएको म्याद सकिन पनि अब महिना दिनभन्दा कम समय बाँकी छ । अहिलेसम्म ८२ प्रतिशत हाराहारीमा काम सकिएको डीई खनालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस