जनकपुरपछि काठमाडौंमा पनि मोदीको अभिनन्दन तयारी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउँदैछन् । उनलाई जनकपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने भएका छन् ।
प्रधानमन्त्री मोदी २८ वैशाख बिहान जनकपुर पुग्नेछन् । जनकपुरस्थित जानकी मन्दिरमा प्रधानमन्त्री ओलीले मोदीको स्वागत गर्नेछन् । मन्दिरमा विशेष पूजा अर्चनापछि मोदीको सम्मानमा जनकपुर उपमहानगरपालिकाले नागरिक सम्मान गर्ने कार्यक्रम छ जहाँ मोदीले मुख्य बक्ताका रुपमा नेपाल भारत सम्बन्धबारे सम्बोधन गर्नेछन् । त्यहाँ प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
मोदीलाई टुंडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाको टोलीले सैनिक गारत सम्मान (गार्ड अफ अनर) दिनेछ । टुंडिखेलमा गार्ड अफ अनर पाउने उनी दोस्रो प्रधानमन्त्री हुनेछन्, यसअघि पाकिस्तानका प्रधानमन्त्री सहिद अब्बासी आउँदा टुंडिखेलमा उनको सम्मानमा सेनाले गार्ड अफ अनर दिएको थियो ।
मोदीले राष्ट्रपति भवन शितलनिवासमा राष्टपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । २८ वैशाखमै दुवै प्रधानमन्त्रीबीच औपचारिक प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । सोही दिन परराष्टमन्त्री प्रदिप ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
मोदी २९ वैशाखमा मुक्तिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । मुक्तिनाथबाट फर्केपछि मोदीको सम्मानमा काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
मोदीले २०७१ साउन र मंसिरमा दुईपटक नेपाल भ्रमण गरेका छन् । प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो भने दोस्रो राजकीय भ्रमण हो ।
प्रधानमन्त्री मोदीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, मधेस केन्द्रित दलका शीर्ष नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
काठमाडौंबाट ओली र मोदीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस