साढे ३३ केजी सुन प्रकरण : ६३ जनाविरूद्ध मुद्दा दर्ता
'एसएसपी लोहनीले पत्रकारलाई लात्ती हाने'
विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । जसमा ७ जना प्रहरी अधिकारी पनि संलग्न छन् ।
बुधबार उनीहरु विरुद्ध अपहरण, कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्दा दर्ता गरिएको हो । पक्राउ परेका २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो ।
बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ ।
त्यस्तै, विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ ।
मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाइएको छ ।
सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे भने अझै फरार छन् । उनी भारतमा लुकेर बसेको हुन सक्ने आशंका गरिएको छ ।
यसैबीच महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीले सञ्चारकर्मीमाथि लात्ती प्रहार गरेका छन् । लोहनीले प्रहार गरेको लात्ती पत्रकारको क्यामेरामा लागेको थियो ।
मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा लोहनीले सञ्चारकर्मीहरुलाई हातपात गरेका हुन् । उनले अनलाइनखबरका विराटनगर प्रतिनिधि ध्रुव भट्टराई र पत्रकार सुमन सुस्केरालाई हातपात गरेका हुन् । अभियुक्तहरुको तस्वीर लिन खोज्दा लोहनी पत्रकारमाथि जाइलागेका थिए ।
प्रतिकृया दिनुहोस