भारतले जमिनमा मात्रै होईन, आकाश पनि अतिक्रमण गर्यो
'हामी यो रुट लिन्छौं, विमानस्थल चल्छ’
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले जमिनमा मात्र नभई आकाशमा पनि अतिक्रमण गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बुटवलस्थित प्रदेश ५ को संसद भवनमा प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको बताए ।
उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘आकाशबाट एउटामात्रै बाटो दिएको हुनाले हामीलाई अप्ठ्यारो छ, किनभने भारतले एउटामात्रै बाटोबाट हामीलाई पस्न दिन्छ । जमिनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिराख्नुपर्ने कुनै आवश्यकता होइन । हामी यो रुट लिन्छौं, विमानस्थल चल्छ ।’
उनले भारत भ्रमणका क्रममा आकाशको रुटबारे कुरा गरेको बताए । ‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ ओलीले भने, ‘भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको छु ।’
नेपालले काठमाडौं बाहिर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाउँदैछ । पोखरा, भैरहवा र निजगढ विमानस्थल निर्माणका लागि प्रयासहरु भइरहेका छन् । तर, भैरहवा र निजगढ विमानस्थलमा उडान-अवतरणका लागि भारतले आफ्नो आकाशको इजाजत दिन कञ्जुस्याइँ गर्दै आएको अवस्था छ ।
पहिलो पटक प्रदेश सभालाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले एक घण्टा सम्बोधनका क्रममा उनले नयाँ घर बनाउँदा समस्या हुने बताउँदै अहिलेको समस्या पनि त्यस्तै भएको प्रधानमन्त्रीले विश्लेषण गरे ।
आफ्नो सरकार पुरानो मानसिकताको सरकार होइन भन्दै ओलीले सबै प्रदेशहरुलाई सक्षम बनाएर मात्रै संघ बलियो हुने स्पष्ट पारे । साथै प्रदेश, नगरपालिका र गाउँपालिका लगायत सबै तहलाई बलियो पार्नुपर्ने प्रधानमन्त्रीले बताए ।
प्रतिकृया दिनुहोस