३३ केजी सुन प्रकरण : डीएसपी केसी नियन्त्रणमा, पक्राउ पर्ने प्रहरी मात्रै ६ जना
तीन जनाको ज्यान गयो, २८ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा डीएसपी प्रजित केसी पक्राउ परेका छन् । उनीसँगै सुनकाण्डमा पक्राउ पर्ने प्रहरी अधिकारीको संख्या ६ पुगेको छ ।
तर, अहिलेसम्म गायब भएको भनिएको साढे ३३ केजी सुन कहाँ छ भन्ने अत्तोपत्तो छैन
जिल्ला प्रहरी कार्यालय मोरङमा बयानका लागि हाजिर भएका केसीलाई अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा संगठित अपराधमा थप अनुसन्धानका लागि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
डीएसपी केसी र अपराध महाशाखामा कार्यरत सई बालकृष्ण सञ्जेल सनम शाक्यको हत्यापछि विराटनगर पुगेका थिए । त्यही घटनामा एसएसपी दिवेश लोहनीसँगै डीएसपी केसी र सई सञ्जेल प्रहरी प्रधान कार्यालयमा तानिएका थिए ।
३३ किलो सुन प्रकरणमै यसअघि पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्का पक्राउ परिसकेका छन् । यसैबीच प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी श्याम खत्री फरार रहेका छन् । अनुसन्धान समितिले एसएसपी खत्रीलाई पनि बोलाएको थियो । तर, उनी अहिलेसम्म समितिको सम्पर्कमा छैनन् ।
खत्री तिनै प्रहरी अधिकारी हुन्, जो २३ माघ ०७३ मा दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए ।
उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको प्रहरी स्रोतको भनाइ छ । पक्राउ परेका प्रहरी जवान विष्णु खड्का खत्रीका सवारी चालक हुन् ।
सरकारले प्रकरणको छानबिन गर्न गठन गरेको समितिले आइतबारसम्म २८ जनालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्दा चलाएको छ ।
पक्राउ पर्ने प्रहरी अधिकारी बाहेक ‘चाचाजी’ भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर र राजु महर्जन छन् ।
त्यस्तै, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे लवगायत छन् ।
प्रहरीले सुनका मालिक भनिएका गोरेसहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायतको सम्पत्ति समेत रोक्का गरेको छ ।
यस प्रकरणमा तीन जनाको ज्यान गएको छ । २२ माघमा थाई एयरवेजमा वरिष्ठ प्राविधिक वनले गुड्दै गरेको ट्याङ्करमा ठोक्किएर आत्महत्या गरेका थिए । यस्तै, उर्लाबारीका सनम शाक्यको हत्या भएको छ । उनीबाट हराएको सुनको सूचना फुत्काउने कोशिशका क्रममा करेन्ट लगाएर टर्चर दिँदा शाक्यको मृत्यु भएको प्रहरीको भनाइ छ ।
यसैगरी बर्दियाको राजापुर नगरपालिका–७ का प्रेमराज चौधरीले प्रहरी हिरासतभित्रै आत्महत्या गरेका थिए ।
प्रतिकृया दिनुहोस