सांढे ३३ किलो सुनको खुल्यो यस्तो रहस्य !
काठमाडौं । गत ७ माघमा दुबईबाट आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । यसरी सुन ल्याउने प्रक्रिया चूडामणि उप्रेती‘गोरे’का लागि सामान्य थियो । अवैध सुन भरियामार्फत भारत र्पुयाउने गरिन्थ्यो ।
त्यो दिन आएको साढे ३३ किलो सुन विमानस्थलबाट सहरसम्म ल्याउने जिम्मा थाई एयरवेजका कर्मचारी पुण्यप्रसाद लामा, लालबहादुर मगर र सानु बनको थियो । उनीहरूले मोटरसाइकलको तेल ट्यांकीमा राखेर पटक–पटक खेप गरेर अनामनगरस्थित एउटा घरमा र्पुयाए ।
अब ट्यांकीबाट निकालेर सबै सुन झोलामा राखी किराना पसलजस्तो स्थानमा पर्खिएका भरियालाई दिनुपर्ने थियो । तर, पसलमा लग्न सानु बनले बोकेको सुन एकाएक गायब भयो । र, त्यहीँबाट सुरु भयो यत्रो सुनको महाभारत ।
सुन बुझ्नुपर्ने सनम शाक्य भने ठमेलतिर होटलमा मस्तीमा थिए । सुन आउँछ भनेको ठाउँमा नपुगेपछि गोरेले सनमलाई फोन गरेर कहाँ छस् भने । सनमले उर्लाबारीमा छु भनेर ढाँटे । तर, पछि कुरो बुझ्दा सनम काठमाडौंमै भएको खुल्यो ।
त्यसपछि सनम गोरेको शंकामा परे । तर, सनमले भने सानु बनलाई शंका गरे । यता, गोरेले सानुलाई सिन्धुलीको खनियाखर्कमा ल्याएर सुन कसले लग्यो भन्दै केरकार गरे । भुजुङ गुरुङले सुन गायब बनाएको जवाफ सानुले गोरेलाई दिए । गोरे बुझ्न लागे । तर, भुजङले गायब पारेको पुष्टि भएन । अन्ततः सानुले नै गायब पारेको निष्कर्षमा गोरे पुगे ।
विमानस्थलबाट सुन बोकेर आउने भरिया थिए– गोपालबहादुर शाही । प्रहरीले शाहीलाई पक्राउ गरेको थियो ।
उनकै बयानका आधारमा विमानस्थल सुरक्षा गार्ड एसएसपी खत्रीसहित दीलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ पक्राउ परे ।
तर, सुन तस्करका नाइके फरार रहे । सिआइबीको अनुसन्धान प्रतिवेदनअनुसार उक्त सुनको मुख्य लगानीकर्ता गोरे थिए । तस्करीको योजना भने हरिशरण खड्का, रोशनगुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेलले बनाएका थिए ।
यीमध्ये प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन । दुबईमै बस्दै आएका पाँचविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी ग¥यो । तर, गोरेलाई भने त्यसवेला रेडकर्नर नोटिस जारी गरिएको थिएन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखबाट हटाइएपछि डीआईजी गोविन्द निरौला प्रहरी प्रधान कार्यलयस्थित अन्वेषण ब्युरो प्रमुख थिए । ब्युरो प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत अपराध अनुसन्धान विभागअन्तर्गत रहन्छ । विभाग प्रमुख तत्कालीन एआइजी बमबहादुर भण्डारी थिए । भण्डारीलाई तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गोरे पक्राउको योजना बताएका थिए । गोरे पक्राउका लागि प्रहरीसँग समन्वय गर्ने जिम्मा पनि अर्यालले भण्डारीलाई दिएका थिए ।
सोही क्रममा भण्डारीले मोरङ जिल्ला प्रहरी कार्यालयसँग गोरे पक्राउ गर्न समन्वय गरिरहेका थिए । यसको सुइँको ब्युरोका तत्कालीन डिआइजी निरौलाले पाए । त्यसलगत्तै उनले प्रहरीको योजना गोरेलाई भने । र गोरेलाई भगाए ।
साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना पूर्वसहकर्मीलाई मोरङको जंगलमा पुर्याएर यातना दिइरहेका थिए । उनलाई पिछा गर्दै मोरङको पोखरिया पुगेको प्रहरी टोलीले ‘रणनीतिक’ रूपमा फोनमा गरेको सम्झौताअनुसार गोरे मध्यरातमा मोरङको पोखरिया आउन तयार भएका थिए ।
सम्झौताअनुसार पर्खिरहेको प्रहरी टोलीका अगाडि आएर स्कर्पिओ गाडी रोकियो । तर, गोरे आएनन्, बरु गाडीमा उनका सहयोगी सनमको शव आयो । गोरेले करेन्टसहित दिएको यातना सहन नसकेर सनमको मृत्यु भइसकेको थियो ।
प्रतिकृया दिनुहोस