आउँदो असारमै सूर्यविनायक धुलिखेल सडकको प्रारम्भिक प्रतिवेदन तयार हुने
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक खण्डको प्रारम्भिक अध्ययन प्रतिवेदन असारसम्म तयार हुने भएको छ । जापानी सहयोग नियोग जाइकाले १४.७३ किलोमिटर लामो सूर्यविनायक धुलिखेल सडक खण्डको प्रारम्भिक अध्ययन गरिरहेको छ ।
सडक विभाग वैदेशिक महाशाखाका इन्जिनियर छवी पौडेलले जाइकाले प्रारम्भिक अध्ययनको ड्राफ्ट खाका प्रतिवेदन महाशाखामा बुझाइसकेको जानकारी दिए । ड्राफ्ट रिर्पोट महाशाखाले अध्ययन गरिरहेको छ, ड्राफ्ट रिर्पोटमा आवश्यक कमेन्ट सुझाव सहित जाइकालाई फिर्ता गरिने छ, रिर्पोटमा उल्लेख गरिएको सुझावको दायराभित्र रहेर जाइकाले प्रारम्भिक अध्ययन रिर्पोट तयार पार्नेछ ।
जापान सरकारको ऋण सहयोगमा सूर्यविनायक धुलिखेल सडक खण्ड विस्तार गर्न लागिएको हो । सो आयोजनाका लागि जापान सरकारले ०.२ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरिसकेको महाशाखाले जानकारी दिएको छ ।
जापान सरकारले उपलब्ध गराउने ऋण सहयोगको रकम प्रारम्भिक अध्ययन रिर्पोट पछि मात्र थाहा हुनेछ । प्रारम्भिक रिर्पोटमा सडक विस्तारका लागि खर्च हुने अनुमानित रकम उल्लेखित हुन्छ । सोही प्रतिवेदनमा उल्लेख भएको रकमको हाराहारीमा जापान सरकारबाट ऋण सहयोगको अपेक्षा गर्न सकिने पौडेलले बताए ।
सडक विस्तारका लागि अधिकरण गर्नुपर्ने जग्गामा जापान सरकारको ऋण खर्च हुने छैन । मूअब्जा वितरणका लागि नेपाल सरकारले लगानी गर्नुपर्ने हुन्छ ।
सडक कस्तो हुन्छ ?
सूर्यविनायक धुलिखेल सडक खण्ड सूरुङमार्ग सहित बन्ने छ । सो खण्डको पालाँसे(साँगा भन्ज्याङमा सूरुङमार्ग बनाउन लागिएको हो । जापान सरकारको सहयोगमा बनेको कोटेश्वर सूर्यविनायक सडक खण्ड जस्तै सो सडक हुने इन्जिनियर पौडेलले बताए ।
कोटेश्वर सूर्यविनायक सडक जस्तै मोडलमा निर्माण गर्ने भनिए पनि सो सडक खण्डमा बजार क्षेत्रमा मात्र सर्भिस लेन बनाइने छ ।
प्रतिकृया दिनुहोस