५६ बर्षपछि लागू हुदै भिक्षा निषेध कानून : अब पशुपत क्षेत्रमा भिक्षा माग्न निषेध

Psupati

काठमाडौँ । नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ ।

विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने निषेध ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो ।

भिक्षा माग्ने प्रथालाई निषेध गर्न बनेको ऐन २०१९ साल भदौ ११ गते नेपाल राजपत्रमा प्रकाशन भएको थियो । त्यसै वर्ष असोज १ गतेदेखि नेपालभर ऐन लागू गरिए पनि कार्यान्वयन हुन सकेको थिएन ।

पशुपति क्षेत्र विकास कोषले गत चैत २० गतेदेखि पशुपति क्षेत्र परिसरलाई मगन्तेरहित क्षेत्र घोषणा गरेपछि यो ऐन कार्यान्वयन शुरु भएको हो । पशुपति क्षेत्रमा मागेर बस्ने सहयोगापेक्षीलाई मानव सेवा आश्रमले आश्रय दिएको छ । कोषका सदस्य सचिव डा प्रदीप ढकाल देशभरका देवस्थलबाट मगन्तेलाई हटाउने अभियान शुरु गरिनुपर्ने बताउँछन् ।

‘पशुपति परिसरलाई सहयोगापेक्षीरहित बनाउँदा १ सय जना मगन्तेमा ८ जनालाई व्यवस्थापन गर्नुपर्ने देखियो, जसको समाजमा कोही छैनन्, तिनलाई मानव सेवा आश्रमजस्ता स्थानमा राखिनुपर्छ, पेशाका रुपमा माग्न बस्नेलाई ऐनअनुसार कारबाही गरिनुपर्छ’ उनले भने ।

मन्दिर क्षेत्रमा हात थापेर बस्नेले सहज तरिकाले राम्रो आम्दानी गर्ने भएपछि धेरै मानिस मगन्ते पेशामा आकर्षित भएका हुन् ।

ऐनअनुसार देशभर माग्न निषेध गरिए यो पेशा अपनाउनेले विकल्प खोज्ने सदस्य सचिव ढकालको भनाइ छ । पशुपति क्षेत्रमा २८ वर्षदेखि निरन्तर माग्ने पेशा अपनाउने पनि भेटिएको कोषले जनाएको छ ।

पशुपति मन्दिर परिसरलाई तीन दशकदेखि माग्ने थलो बनाएकाले कोषका सदस्य सचिव ढकाललाई समेत ‘हटाउने तँ को होस्’ भनेर थर्काउने मगन्ते भेटिए ।

कोषले घर हुनेलाई खर्च दिएर पठाएको छ ।रोजगारी गर्नेलाई पशुपति क्षेत्रमै सञ्चालित आयोजनामा काम दिएको छ । काम गर्न नसक्ने र बिरामीलाई मात्र आश्रममा पठाइएको हो ।

आश्रमका काठमाडौँ संयोजक एवं प्रवक्ता सुमन बर्तौला पशुपति क्षेत्रलाई सहयोगापेक्षीरहित क्षेत्र घोषणा गरेपछि ९२ जनालाई पुनःस्थापित गरिएको बताउँछन् । श्रम सडक र मन्दिर क्षेत्रमा माग्ने नबस्ने गरी मानवीयताको राष्ट्र नेपाल बनाउने अभियानमा लागेको छ ।

‘सत्य, न्याय, अनुशासनको राष्ट्र निर्माण गर्ने अभियान चलाइएको छ, यसका लागि विसं २०८२ सम्म नेपाललाई मगन्तेरहित बनाउने आश्रमको योजना छ, ।’ ‘सबैलाई खाना, नाना र छाना हाम्रो चाहना’ भन्ने नारालाई मूलमन्त्र बनाएर आश्रमले काम गरेको छ ।

सडकपेटी र मन्दिर क्षेत्रमा पर्यटकको पनि आँखा जाने भएकाले यस्तो अभियान शुरु गरिएको आश्रमले जनाएको छ । आश्रममा हाल ६० जना युवा स्वयंसेवी सक्रिय छन् । २०८२ सालसम्म एक हजार जना स्वयंसेवी बनाउने तयारी भएको प्रवक्ता बर्तौलाले बताए ।

काठमाडौँ महानगरपालिकाले मासिक १ लाख ६७ हजार २ सय भाडा तिरेर गोंगबु र बूढानीलकण्ठमा आश्रम सञ्चालन भएको छ । सडक र मन्दिर क्षेत्रमा माग्नेले कम्तीमा पनि दैनिक १ हजारभन्दा बढी कमाउने गरेका छन् । यी मगन्तेले सार्वजनिकस्थलमै स्वच्छन्द जीवन यापन गर्न पाउने भएकाले यसतर्फ आकर्षित भएका हुन् ।

पशुपति क्षेत्रका मगन्तेका बारेमा अध्ययन गरेकी कञ्चन राउत सक्रिय रुपमा काम गर्न सक्ने मानिस पनि मागेर निष्क्रिय बन्दा जनशक्ति अभाव हुने बताउँछिन् ।

पशुपति क्षेत्रबाट आश्रम लगिएका कतिपय सहयोगापेक्षीमा गम्भीर रोग र मानसिक समस्यासमेत देखिएको प्रवक्ता बर्तौलाले सुनाए । यस्तै मध्येका एक सुनिल भुजेल क्षयरोग, मधुमेह, एउटा फोक्सोले समेत काम नगर्ने अवस्थामा कालीमाटी क्षयरोग अस्पतालमा उपचार भइरहेको आश्रमले जनाएको छ ।

आश्रमले वैशाख महिनामै बौद्ध, भद्रकाली र स्वयम्भू क्षेत्रका मगन्तेलाई उद्धार गर्ने तयारी गरेको जनाएको छ । हनुमानढोकास्थित कालभैरव मन्दिर अघि बसेकी ९२ वर्षीया वृद्धालाई आश्रममा लैजान १२ पटकसम्म प्रयास गर्दा पनि असफल भएको प्रवक्ता बर्तौलाले बताए ।

वृद्धाका छोरा बुहारीले घर फर्काउन प्रयास गर्दा पनि असफल भएको उनले सुनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...