लथालिंग पाराले मनाइयो डा. अम्बेडकरको जन्मजयन्ती
काठमाडौं । आज नयाँ वर्ष लागेको दिन । आजैका दिन काठमाडौंमा भारतीय नेता डा. अम्बेडकरको १२७ औं जन्मजयन्ती मनाइयो । आजै ११ औं बाबुगजजीवन राम जयन्ती पनि मनाइयो ।
भारतको संविधान निर्माताका रुपमा चिनिएका डा. भीमराव अम्बेडकरलाई भारत, नेपाल लगायतका देशहरुले दलित मुक्ति योद्धाका रुपमा मान्ने गर्छन् ।
तर, तिनै नेताको सम्झनामा काठमाडौंको अल्फा विटामा गरिएको कार्यक्रम भने सर्वसाधारण जन्म दिन मनाए जस्तै थियो । भारतको महारष्ट्र, गोवा, आसाम, दिल्ली लगायतका ठाउँबाट मात्रै ३० जना नेपाल आएका थिए ।
तर, नेपालबाट भने त्यसको हाराहारीमा पनि सहभागी थिएनन् । सबै गरेर कार्यक्रममा झण्डै ५५ जना जति मात्रै सहभागी थिए । तर हलमा भने झण्डै १ सयभन्दा बढी कुर्सीको व्यवस्था थियो ।
सञ्चालनमै अलमल
नेपाल भारत दलितमैत्री संघ र बाबु जगजीवन राम कला संस्कृति तथा साहित्य प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रमका सञ्चालक थिए त्रिलोकचन्द्र विश्वास र प्रमुख अतिथि थिए जुधारु मन्त्री लालबाबु पण्डित ।
भारतबाट आएका एक दर्जन नेताहरुको फुर्ती त्यतिकै थियो । उनीहरु घरीघरी आफैं कार्यक्रम सञ्चालन गर्न पुगेको देखिन्थ्यो भने सञ्चालकले हिन्दी, नेपाली र अंग्रेजी मिसाएर बोलेको चाँकडी गरेजस्तै लाग्थ्यो ।
दर्शकदीर्घामा बसेका व्यक्तिभन्दा धेरै थिए मञ्चमा अतिथि । कार्यक्रम हतारमा सक्ने भन्दै सञ्चालकले कसैलाई बोलाउन खोज्दा भारतीय नेताहरु आफैं फलानालाई बोल्न दिनु भन्दै आफैं कार्यक्रम सञ्चालन गरेको दृष्यले डा. अम्बेडकरको जन्मजयन्ती होइन, नाटकको कुनै रिहल्सन हुँदै गरेको आभार दिलाउथ्यो ।
कार्यक्रम चलाइरहँदा विश्वासले समावेशीता कै लागि भने मञ्चमा सुनिता मरिकलाई बोल्न लगाए, त्यो लगत्तै अधिकारकर्मी भनेर सरु सुनारलाई बोल्न लगाइयो । कार्यक्रममा बलबहादुर सुन्दास, गोपालप्रसाद विश्वकर्मा, मोतिलाल नेपाली लगायतले डा. अम्बेडकरले भारतीय दलित आन्दोलनमा गरेको योगदानको चर्चा गरेका थिए ।
सम्मान धेरै
नेपालमा मनाइएको डा. अम्बेडकरको जन्मजयन्तीमा यो वर्ष दुई दर्जनलाई त सम्मान नै गरियो ।
यसरी सम्मानित हुनेहरुमा विजुल विश्वकर्मा, विसन मुण्डा, विमल उराव, अनिमुल स्लाम, ओमप्रकास विके, पुरनसिंह दयाल, मोतीलाल नेपाली, पुष्कर लामा, गोपालप्रसाद विश्वकर्मा, बलबहादुर सुन्दास, चक्रमान विश्वकर्मा, चन्द्रकुमार गदाल, हिरा विश्वकर्मा, कमला हेमचुरी, हेमा वर्देवा, सुनिता मरिक, गजाधर सुनार लगायत थिए ।
तर, उनीहरुलाई आफुले के सम्मान पाए भन्ने नै थाहा थिएन । भारतबाट आएका दलित नेताहरुले भारतबाटै प्रमाणपत्र ल्याएर सम्मान गरेका थिए । ‘छोटो समयको तयारी भएकाले पनि यस्तो भएको हो’ नेपाल भारत दलित मैत्री संघका महासचिव चन्द्रप्रकाश गदालले भने, ‘आज नयाँ वर्ष पनि परेको र सार्वजनिक छुट्टी पनि भएकाले भनेजस्तो कार्यक्रम गर्न सकिएन ।’
प्रतिकृया दिनुहोस