ईपीजी बैठक : सन् १९५० को सन्धि पुनरावलोकन अन्यौलमा

Epg meet

काठमाडौं । नेपाल र भारतबीच भएका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को आठौ‌ं बैठकमा पनि सन् १९५० को सन्धि पुनरावलोकन गर्ने विषय टुंगोमा पुग्न सकेन ।

दिल्लीमा जारी बैठकमा नेपाली टोलीले सन् १९५० को सन्धि पुनरावलोकनको विषय महत्वकासाथ उठाएपनि भारतीय पक्षले थप छलफल आवश्यक भएको बताएपछि टुंगोमा पुग्न नसकेको हो ।

दिल्लीस्थित ईपीजी सचिवालय रहेको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए)मा बिहीबार र शुक्रबार करिब आठ घण्टा छलफल भएको थियो ।

ईपीजीका नेपाल संयोजक डा. भेषबहादुर थापाले १९५० को सन्धि यथास्थितिमा रहन नसक्ने तर सन्धिले कुन स्वरूप लिन्छ भन्ने तय हुन बाँकी रहेको बताए । उनले यो सन्धि टुंगिएपछि अन्य विषयमा धेरै समस्या नहुने निष्कर्ष पनि सुनाए ।

स्रोतका अनुसार नेपालले पेस गरेको सन्धिमा उल्लेखित दुवै देशका नागरिकले पाउने राष्ट्रिय व्यवहारको विषयमा सहमति जुट्न सकेको छैन । यसबारे भारतीय पक्षले मौखिक धारणा मात्रै राखेको र आगामी बैठकमा लिखित रूपमै धारणा ल्याएपछि छलफल गरेर टुंग्याउने सहमति भएको छ ।

संयोजक थापाले आ–आफ्ना विचारधारा लिखित र मौखिक रूपमा राखिएको, दुवै पक्षले त्यसमा थप अध्ययन गर्ने र आगामी बैठकबाट सहमति गर्ने कोसिस हुने पनि बताए।

 बैठकमा १९५० को सन्धि, नेपाल भारत सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत सबै विषयमा सहमति जुटाउने कोसिस भएको थियो ।

बैठकमा नेपालतर्फका संयोजक थापा तथा सदस्यहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई सहभागी थिए। भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी लामा र बिसी उप्रेती बैठकमा सहभागी थिए ।

अर्को बैठक जेठ १८ देखि २० सम्म काठमाडौंमा बस्ने सहमति पनि बैठकले गरेको ईपीजीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।

ईपीजीको कार्यकाल आगामी असारमा सकिँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...