नोबेल शिक्षण अस्पतालद्धारा कार्कीलाई १ लाख
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली काँग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि आज यहाँ १ लाख सहयोग गरेको छ ।
अस्पतालका निर्देशक सुनिल शर्माले काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई उक्त रकमको चेक आज हस्तान्तरण गरे । संघीय संसद्को दोस्रो चरणको निर्वाचनमा उम्मेदवार कार्की चुनाव प्रचारका क्रममा निर्वाचन बहिष्कार समूहद्वारा गरिएको कुकर बम विष्फोटनमा घाइते भएका थिए ।
पूर्वसभापति कार्कीको अहिले शिक्षण अस्पताल काठमाडौँमा उपचारका लागि आर्थिक समस्या उत्पन्न भएको छ । निर्वाचनमा घाइतेको सम्पूर्ण उपचार सरकारले बेहोर्ने भने पनि समुचित सहयोग नपाइएको गुनासो उनको परिवारले गरेको छ ।
चेक हस्तान्तरण समारोहमा काँग्रेस सभापति लिम्बूले काँग्रेस र वर्तमान सरकार संवेदनशील भएर घाइतेको उपचारमा लाग्नुपर्नेमा जोड दिए । नोबेल अस्पतालका निर्देशक शर्माले आगामी दिनमा पनि थप सहयोग गरिने दृढता व्यक्त गरे । नोबेल अस्पतालले असहाय र गरीबलाई निःशुल्क उपचार सेवा दिने गरेको बताइएको छ ।
प्रतिकृया दिनुहोस