कसले भाँजो हाल्यो अरुण तेस्रोमा ?
काठमाडौं । शनिवार भारतको नयाँ दिल्लीमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम थियो । तर, नेपालले तयारी नभएको भन्दै अस्वीकार गरेपछि रोकिएको थियो ।
नेपालका प्रधानमन्त्री भारत भ्रमणमा गएको मौकामा दिल्लीबाटै स्वीचमार्फत अरुण तेस्रोको शिलान्यासको कार्यक्रम तय भएको थियो । सोही दिन नेपालका साना वाम पार्टीहरुले विरोध सभा पनि गर्न लागेका थिए । तर, अन्तिम समयमा त्यो रोकिएको थियो ।
आखिर के तयारी पुगेन त ? यो नेपालीका लागि चासो र चिन्ता विषय बनेको छ । तथापि नेपालले भने तयारी नपुगेका कारण शिलान्यास गर्न नमानेको चर्चा चल्यो ।
तर, त्यति चर्चाले मात्रै अरुण तेस्रोको शिलान्यास भने नभएको होइन । पहिलो कुरा त १ खर्ब १६ अर्ब रुपैयाँ लागतमा सो आयोजना निर्माण हुने भनिएको छ । तर हालसम्म भारतमा विद्युत् खरिद सम्झौता (पिपिए) हुन सकेको छैन ।
यो त देखाउने दाँत मात्रै हो । नेपाल र भारतबीच सप्तकोशी उच्च बाँध निर्माणको सम्झौता हुने भारतको भित्री तयारी थियो । तर, नेपालमा त्यसको विरोध भइरहेका कारण तत्काल सम्भव नदेखिएपछि भारतले नै अरुण तेस्रो आयोजनाको कुरा अघि सारेको थियो ।
अर्काे कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चाँडै नेपालको भ्रमणमा आउँदैछन् । उनी आउँदा नेपालसँग सम्झौता गर्ने अर्काे ठूलो कुनै परियोजना छैन । त्यही भएर पनि शनिवार अचानक अरुण तेस्रो जल विद्युत परियोजनाको शिलान्यास रोकिएको थियो ।
स्रोतहरुका अनुसार अब अरुण तेस्रो जलविद्युत आयोजनाको सम्झौता भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा मात्रै हुने छ ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा साउन ०७१ मा लगानी बोर्ड र भारतीय कम्पनी सतलजबीच अरुण तेस्रो जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) भएको थियो ।
सोही सम्झौता अनु्सार नै नेपालका प्रधानमन्त्री भारत गएको बेला शिलान्यास गर्ने भनिएको थियो । तर लामो समयसम्म पनि दुबै देशका अधिकारीहरु बीचको ढिलासुस्तीका कारण भारतमा विद्युत् खरिद सम्झौता (पिपिए) हुन सकेको थिएन ।
विद्युत जति भारतलाई
१ खर्ब १६ अर्ब रुपैयाँ लागतमा बन्न लागेको परियोजनाबाट ९ सय मेगावाट विद्युत् उत्पादन हुनेछ । ९ सय मेगावाट विजुलीमध्ये नेपालले २१ दशमलव ९ प्रतिशत नेपालले सित्तैमा पाउनेछ ।
त्योबाहेक अरु सबै विद्युत भारतले प्रयोग गर्ने गरी अरुण तेस्रो आयोजना बन्न लागको छ । तर, त्यसको नेपालमा तीव्र विरोध भइरहेको छ ।
प्रतिकृया दिनुहोस