घारखोला जलविद्युत्को निर्माण कार्य शुरु
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ ।
म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो ।
घारको विरौटादेखि करीव तीन किलोमिटर पहुँचमार्ग सडक खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए ।
आयोजनाको मुख्य कामका रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यका लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भइसकेको छ । ‘सडकबाट प्रभावित अधिकांशलाई मुआब्जा वितरण गरिसकेका छौँ, बाँकी केहीको पनि कागजी प्रक्रिया पुगेपछि उपलब्ध गराउँछौँ, निर्धारित समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम थाल्छौँ’, उनले भने ।
घारको कुरिला बगरमा बाँध रहने यस आयोजनामा विद्युत्गृहसम्म पानी खसाल्नका लागि तीन किमी ४८ मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । सुरुङ मार्ग हुँदै ल्याइएको पानीलाई करीव १ हजार २ सय मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।
आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको यस आयोजनामा २ अर्ब ४१ करोड लगानी अनुमान गरिएको आयोजनाका इञ्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिए ।
यसैबीच, जलविद्युत् आयोजनाको सुरुङ खन्दा खानेपानीका मुहान सुक्नसक्ने भन्दै स्थानीयस्तरबाट आवाज उठेपछि खानेपानीको मुहानको अवस्थाबारे अध्ययन गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद बरुवालको संयोजकत्वमा रहेको जलविद्युत् सरोकार समिति र जलविद्युत् आयोजनाका इञ्जिनियरको टोलीले आयोजनाबाट प्रभावित समुदायभित्र रहेका खानेपानीका मुहानमा पानीको अवस्थाबारे अध्ययन गरेका हुन् ।
प्रतिकृया दिनुहोस