गाईघाट दिक्तेल सडकमा २३ वर्षपछि कालोपत्रे शुरु
उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सडक निर्माण शुरु भएको छ ।
२३ वर्षपछि पहिलोपटक बल्ल उदयपुरको सदरमुकाम गाईघाटबाट सडक कालोपत्रे र नाला निर्माण कार्य शुरु भएको छ । गाईघाट दिक्तेल सडक कार्यालय, उदयपुरका अनुसार कात्तिक महिनादेखि गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत पहिलो चरणमा उदयपुरको गाईघाटस्थित त्रियुगा पुलदेखि गाईघाटको मुख्य चोकसम्मको सडक कालोपत्रे र बृहत् नाला निर्माण कार्य औपचारिक रुपमा शुरु भएको हो ।
पहिलो चरणमा गाईघाटको त्रियुगा नदीदेखि गाईघाट बजारको ट्राफिक चोकसम्मको एक किलोमिटर लम्बाइ र २५ मिटरको चौडाइ सडकसहितको नाला निर्माण र सडक कालोपत्रे कार्य शुरु भएको गाईघाट दिक्तेल सडकखण्डका प्रमुख इञ्जिनियर निज्जल श्रेष्ठले बताए ।
नेपाल सरकार सडक विभागको ११ करोड ९८ लाख बराबरको आर्थिक लगानीमा पहिलो पटक सो सडकखण्डको नाला निर्माण र सडक कालोपत्रे गर्ने कार्य औपचारिक रुपमा शुरु भएको कुरा गाईघाट दिक्तेल सडक कार्यालय बताउँछ ।
सूर्य कन्ट्रक्शन प्रालि निर्माण कम्पनीले २०७५ को कात्तिकभित्र काम सम्पन्न गर्ने गरी आफूहरुले कार्य थालेका कुरा सो कम्पनीका सञ्चालक प्रदीपकुमार कार्कीले बताए ।
अब क्रमशः उदयपुरदेखि खोटाङको दिक्तेलसम्म १५८ किलोमिटर सडकखण्डमा सडकको नाला निर्माण र कालोपत्रे गर्ने कार्य अभियान शुरु भएको पनि गाईघाट—दिक्तेल सडक कार्यालय उदयपुरले बताएको छ ।
तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा गाईघाट दिक्तेल सडकको औपचारिक शिलान्यास गरेपछि उक्त सडक निर्माण कार्य शुरु भएको थियो ।
अहिले २३ वर्ष बितिसक्दा पनि उक्त सडकखण्डमा सडक ग्राभेलिङ हुननसकेको र सडकका नाला निर्माण तथा कालोपत्रे कार्यसमेत हुन सकेको छैन ।
यस्तै, सडकखण्डअन्तर्गत उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा अहिले पनि स्थायी पुल निर्माण हुन नसकेको यातायात व्यवसायी बताउँछन् ।
ढिलै भए पनि २३ वर्षपछि पहिलो पटक कछुवाको गतिमा सो सडकखण्डमा नाला निर्माण र सडक कालोपत्रे औपचारिक कार्य शुरु भएको हो ।
प्रतिकृया दिनुहोस