भारत भ्रमणमा विवादास्पद निर्णय नगर्न ओलीलाई परिवार दलको आग्रह
काठमाडौं । नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा कुनै पनि विवादास्पद निर्णय नगर्न आग्रह गरेको छ ।
सो दलले प्रधानमन्त्री ओलीको भ्रमणलाई सद्भाव र आर्थिक मुद्धामा केन्द्रित गर्न सुझाव पनि दिएको छ । सोमबार बसेको सो पार्टीको बैठकले प्रधानमन्त्री ओलीलाई आसन्न भारत भ्रमणका बेला विवादास्पद निर्णय नगरी नेपालको राष्ट्रिय हितको लागि उपयुक्त हुने सुझाव दिएको छ ।
बैठकले समान विचार तथा मुद्धामा विभिन्न राजनीतिक दलहरुसँग सहकार्य गर्ने तर अन्य कुनै पनि दलसँग एकीकरण नगर्ने निर्णय गरेको छ । सो दलले प्रतिनिधिसभा तथा प्रदेश सभको निर्वाचनमा भने नेकपा एमालेसँग तालमेल गरेको थियो । सो दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिक उम्मेदवार पनि बनाएको थियो ।
सो बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनसँगको सहकार्यबारे गम्भीर समिक्षा पनि गरेको छ ।
बैठकले नेकपा एमालेसँग भएको ३ बुदे सहमति अनुसारको सहकार्यमा अघि बढ्ने तथा गठबन्धनने निर्वाचनको क्रममा गरेको प्रतिबद्धता पूरा गर्न बिचलित नभई अग्रसर हुन सरकार तथा वाम गठबन्धनलाई आग्रह गर्ने निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले बताए ।
परिवार दलले सरकारलाई गुण र दोषको आधारमा समर्थन वा विरोध गर्न सकिने र कुनै पनि निकायबाट हुन सक्ने गलत कार्यको खबरदारी गर्नेसमेत निर्णय गरेको छ ।
बैठकले पार्टीका नेता तथा अगुवा कार्यकर्तालाई उच्च अनुशासनमा रहन, अग्रपंथी लोकतन्त्रलाई दैनिक जीवनमा आत्मसात गर्न, राष्ट्र र जनतालाई प्रमुख प्राथमिकमा राख्न, देशभक्तिको भावना बोक्न, सम्पूर्ण नेपाली नागरिकको आन्तरिक एकता बलियो बनाउँदै लैजान आग्रह समेत गरेको महामन्त्री विनोद डाँगीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस