नेता खड्काको निधन मुलुककै लागि क्षति : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताएका छन् ।
दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले नेताको खड्काको असमायिक निधनले काँग्रेसलाई मात्र नभई देशलाई नै ठूलो क्षति बताए । सभापति देउवाले भने, “नेता खड्का काँग्रेसको महान् योद्धा र देशको महान् सपूत हो । उनले प्रजातन्त्रका लागि आजीवन संघर्ष गर्नुभयो ।” सभापति देउवाले यस दुःखद् घडीमा नेता खड्काको आत्माले शान्ति पाओस् भन्दै परिवारजनमा समवेदना व्यक्त गरे ।
पार्टी केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको उपचारका क्रममा शुक्रबार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उनि मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए ।
उनको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उहाँकै निवासमा राखिएको थियो । उनको पार्थिव शरीरलाई आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनी नेपालको लकेतान्त्रिक आन्दोलनको सबल योद्धा र काँग्रेसको लागि सशक्त खम्बाका रुपमा रहनुभएको बताए ।
स्व खड्कालाई शोक सलामी
पार्टी कार्यालयमा नेकपा (एमाले) नेता सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, काँग्रेसका नेता तथा सयौँ कार्यकर्ताले नेता खड्काको पार्थिव शरीरमा पुष्प गुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
त्यसअघि बिहान ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर पनि सभामुख कृष्णबहादुर महरा, काँग्रेसका नेता तथा कार्यकर्ता र विभिन्न दलका नेताले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
उनिप्रति श्रद्धाञ्जलि व्यक्त गर्न देशभरिबाट काँग्रेस कार्यकर्ता काठमाडौँ आइपुगेका थिए । काँग्रेस नेता खड्का कार्यकर्तामाझ निकै लोकप्रिय नेताका रुपमा चिनिन्थे ।
काँग्रेसले पार्टीको झण्डा आधा झुकाउने
नेपाली काँग्रेसले दिवंगत नेता खुमबहादुर खड्काप्रति शोक प्रकट गर्दै सात दिनसम्म केन्द्रलगायत पार्टी मातहतका सबै कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले काँग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
दिवंगत नेता खड्काको निधनमा यही चैत १८ देखि २२ गतेसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेशस्थित जनसम्पर्क समितिका कार्यालय बन्द गर्नेे तथा शोक÷श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेता खड्काको चैत १६ गते साँझ ५ः१५ बजे नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पार्टीका संस्थापक बिपी कोइरालाको प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील नेता खड्काले बिपी कोइरालासँगै लामो समय भारतमा निर्वासित जीवन विताएका थिए ।
नेता खड्काको निधनले काँग्रेस र सिंगो मुलुकलाई अपूरणीय क्षति पुगेको काँग्रेसले ठहर गरेको छ । दिवंगत नेता खड्काको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति काँग्रेसले उच्च सम्मान प्रकट गरेको छ ।
प्रतिकृया दिनुहोस