काँग्रेस नेता खड्कालाई श्रद्धाञ्जलि दिन शीर्ष नेताहरू सानेपामा, आज नै अन्तिम संस्कार
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उनको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गरे । काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षका उमेरमा निधन भएको हो । उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए ।
उाको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित उहाँकै निवासमा राखिएको छ । यसअघि आज बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा प्रकाशशरण महत, डा शेखर कोइरालालगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
उनको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उनि मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए । उनको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उनकै निवासमा राखिएको छ ।
बेलायतमा उच्च शिक्षा अध्ययनरत नेता खड्काका सुपुत्र अनुराग खड्का आज नेपाल आएपछि धार्मिक विधि र परम्परागत प्रक्रिया पूरा गरेर मात्रै उनको पार्थिव शरीरलाई दिउँसो पार्टी कार्यालयमा राखिने बताइएको छ ।
यही चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी काँग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ बजे बस्ने भनिएको सातौँ दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस