दक्षिणकालीको भन्ज्याङमा बस दुर्घटना, २ को मृत्यु, ३१ घाइते
काठमाडौँ । फर्पिङबाट काठमाडौँ रत्नपार्क आउँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
बा २ ख ९९९९ नम्बरको यात्रुबाहक बस दक्षिणकाली नगरपालिका भन्ज्याङमा दुर्घटना हुँदा दक्षिणकाली नगरपालिका–५ का ४२ वर्षीया मन्जु बस्नेत र सोही ठाउँका २५ वर्षीय सुनिल श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भएका उनीहरुलाई उपचारका लागि बयोधा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बसको अगाडिको चक्का फुत्केर भएको दुर्घटनामा ३१ जना घाइते भएको जानकारी दिए ।
घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस दुर्घटनापछि अहिले सोही रुट भएर चल्ने सवारी साधन रोकिएका छन् ।
प्रतिकृया दिनुहोस