सुख्खायाम सुरु भएसंगै भक्तपुर नगरपाल्किामा खानेपानीको अभाव

Images 144

भक्तपुर । सुख्खायामको शुरुआतसँगै उत्पादनमा कमी आएपछि काठमाडौँं उपत्यका खानेपानी लिमिटेडले हप्तामा एक दिन मात्र पानी वितरण गर्न थालेपछि नगरभित्र खानेपानीको चरम अभाव देखिएको छ ।

भक्तपुर नगरपालिका ६ की रामकेशरी सुवालले भनिन्, “एघार दिन भइसक्यो धारामा पानी आएको छैन । इनारमा पनि पानी छैन । कति किनेर खानु,।” बिहीबार पानी आउने आशमा रित्ता गाग्री लिएर धारा कुरेर बसेकी “आज पानी आउँछ रे, त्यही भएर धारा कुरेर बसेको ।” चुनावताका मत माग्न आउँदा सबै समस्याको समाधान गर्ने वाचा गर्ने जनप्रतिनिधिले दैनिक अत्यावश्यक खानेपानीको व्यवस्था गर्न चासो नदिएको गुनासो उनले गरिन ।

भक्तपुर नगरपालिका–१० का कृष्णेश्वरी अवालले पनि धारामा पानी आउँछ कि भनी कुर्दा कुर्दा दिनै बित्ने गरेको दुःखेसो पोखिन् । ‘धारामा पानी आउने ठेगान छैन । आज आउँछ, भोलि आउँछ भन्दाभन्दै दुई हप्ता नाघिसक्यो, खै के गर्नू । पानीको समस्याले अरु काम नै लथालिङ्ग भइसक्यो ।” उनले भनिन ।

सुख्खा मौसमका कारण सार्वजनिक इनारमा समेत पानी सुकेरसमस्या बढ्न थालेपछि टोलका दुई तीन घर मिलेर ट्यांकरको पानी किनी दैनिक गुजारा चलाउनुपरेको उनले बताइन् ।

बढ्दो सुख्खायामसँगै नगरपालिकाका अधिकाशं क्षेत्रमा पानीको हाहाकार मच्चिएको छ । भएका मुहान सुक्दै गएकाले सार्वजनिक ढुंगेधारा, इनार र पोखरीमा समेत पानी सुक्दै गएको छ । हप्ता दिन बिराएर धारामा पानी आए पनि ढल मिसिएर आउने समस्याले नगरवासी थप समस्यामा परेका छन् ।

केही सातायता नगरका इताछें, वंशगोपाल, बाराहीस्थान, व्यासीलगायत ठाउँमा धारामा ढल मिसिएको पानी आउने गरेको स्थानीयवासीले बताएका छन् । “धारामा पानी आउँदा कहिले कालो लेदो त कहिले साबुनको फीँज जस्तो पानी आउँछ ।” ब्याँसीकी कान्छी कोजुले भनिन्, “करीब आधा घण्टापछि भने सफा पानी आउँछ तर सफा पानी आएको एकछिनपछि धारा सुक्छ ।”

खानेपानी लि भक्तपुरका धारा निरीक्षक दामोदर गिरीले सुख्खायामका कारण भक्तपुरका भित्री क्षेत्रमा पानीमा ढल मिसिएर आउने समस्या देखापर्ने गरेको स्वीकार गरे । नगरका पुराना र जीर्ण पाइप लाइनका कारण ढल मिसिने समस्या देखापर्ने गरेको उनको भनाइ छ ।

निरीक्षक गिरीले भक्तपुर नगरभित्र जर्मनेली परियोजनाअन्तर्गत ढल विस्तार गर्ने क्रममा खानेपानीका पाइपसँगै ढलका पाइप विस्तार गरेका कारण अहिले समस्या देखा परेको बताए । उनले भने, “ढलका मंगालमै खानेपानीका पाइप छन्, त्यसैले सुख्खा याममा पानीमा ढल मिसिने समस्या देखापरेको छ ।”

खानेपानी लिले भक्तपुर नगरलाई दुई भागमा विभाजन गरेर बोडे र मुहानपोखरी स्रोतकेन्द्र नगरकोटको पानी वितरण गर्दै आइरहेको प्रमुख सुरेन्द्र हिमालयले बताए । “नगरको टौमढीदेखि पश्चिम भेगमा बोडेको पानी पाँच दिन बिराएर र पूर्वी भागमा मुहान पोखरीको तीन दिन बिराएर वितरण गर्दै आइरहेका छौंँ, उनले भने,” ‘हाल भक्तपुरमा दैनिक ८० लाख लिटर पानीको माग रहेको छ तर खानेपानी लिमिटेडले ४०÷५० लाख लिटर मात्र पानी वितरण गर्दै आएको छ ।”

बढ्दो पानीको समस्या निराकरणका लागि भक्तपुरमा दुई डिप ट्युववेल खनिए पनि पानीमा माटाको मात्रा बढी भएका कारण वितरण गर्न नसकिएको उनको भनाइ छ । उनले मेलम्चीको पानीका लागि पहल भइरहेको जानकारी दिँदै त्यसभन्दा अघि ट्युववेलको पानी प्रशोधन गरी वितरण गर्ने योजना रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...