मुलुकको समृद्धिको मुख्य आधार कृषि हो, कृषिको आधुनिकीकरण आवश्यक छ : मन्त्री खनाल
बागलुङ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन्।
प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा व्यावसायिक कृषिमा जोड दिंदै उनले भने, ‘‘मुलुकको समृद्धिको मुख्य आधार कृषि हो, कृषिको आधुनिकीकरण आवश्यक छ ।’’
छिमेकी मुलुकले कृषिमा यान्त्रिकिकरणसहित ठूलो परिवर्तन ल्याएको भन्दै मन्त्री खनालले नेपालको कृषिलाई पनि प्रतिस्पर्धामा पु¥याउनुपर्ने धारणा व्यक्त गरे । ‘‘निर्वाहमुखी कृषिले हामीले भनेको समृद्धि सम्भव छैन, यसलाई पूरै व्यावसायिक बनाउनुपर्छ’’ उनले भने, “अहिलेको सरकारले युवालाई कृषितर्फ आकर्षित गर्न युवामैत्री कृषि कार्यक्रम ल्याउन लागेको छ ।”
“भूमिलाई चक्लाबन्दी गरेर ठूला कृषि फार्म चलाउनुपर्छ” मन्त्री खनालले भने, “जथाभावी प्रयोग र प्लटिङ्गलाई कडाइका साथ नियन्त्रण गर्छौं ।”
नेकपा (माओवादी केन्द्र) का नेता समेत रहनुभएका मन्त्री खनालले सरकारले चुनावका बेला गरेका वाचा पूरा गरेरै देखाउने उल्लेख गर्दै आउँदो ५ वर्षभित्रमा विकास र समृद्धिको आधार तयार गर्दै अगाडि जानकारी पनि दिए । मन्त्री खनालले आजै यहाँ जारी चैत्राष्टमी मेला पनि उद्घाटन गरे ।
प्रतिकृया दिनुहोस