लोप भए पोखरेली ढुंगेधारा र पोखरी

Dhunga dhara

पोखरा । अन्तर्राष्ट्रिय रुपमा नै विश्व पानी दिवस मनाइरहेका अवस्थामा पोखरा र आसपासका क्षेत्रका प्राचीन ढुङ्गेधारा र पोखरी लोप हुनुलाई यतिखेर निकै चासो र चिन्ताका साथ हेरिएको छ ।

प्राचीन पोखराको पहिचान गराउने विभिन्न आयाममध्ये यहाँका ढुङेधारा र पोखरीलाई पनि महत्वका साथ हेर्ने गरिएको पोखराको भैरवटोलका ९० वर्षीय जगतबहादुर ताम्राकारले बताए । विसं १९७६ आसपासमा पोखराका विभिन्न १२ स्थानमा राणाकालीन समयमा ढुङ्गेधारा निर्माण गरिएको उनले जानकारी दिए ।

तत्कालीन समयमा पोखराको बगर, विन्दवासिनी, नालाको मुख, रामकृष्ण टोल, बगालेटोल, गणेशटोल, जाल्पामाई, साँघुको मुखलगायतका १२ वटा स्थानमा ढुङ्गेधारा सञ्चालनमा आएका थिए । उनले भने, ‘१२ वटा धारा भएकै कारण यस क्षेत्रलाई तत्कालीन अवस्थामा बाह्रधारा भन्दै बालधारा भन्ने गरिएको पाइन्छ ।’

उक्त समयमा पोखराका ढुङ्गे धारामा धारापानी हालको पोखरा लेखनाथ महानगरपालिका–५ बाट पानी आउने गरेको उनले जानकारी दिए । पोखराका प्राचीन बस्तीमा रहेका ढुङ्गे धारा यहाँका विशिष्ट पहिचान भए पनि अधिकांश लोप भइसकेको र भएको पनि पानी नआउने अवस्थामा रहेको उनको भनाइ छ ।

पोखराको इतिहाससँग यहाँका ढङ्गेधारा पनि प्रत्यक्ष जोडिने मोहोरिया टोलका ७२ वर्षीय लक्ष्मण ध्वजुले बताए । ‘२०४० सालपछि भने यहाँका धेरै ढङ्गे धारा लोप भइसकेका छन्,’ उनले भने, ‘आधुनिकता र विकासका नाममा शहरको प्राचीनतासँग जोडिएका वस्तुको पहिचान नै मेटिनु राम्रो होइन ।’

केही प्राचीन ढुङ्गे धारामा अझै पनि शिलालेख रहेका कारण निर्माणको तिथिमिति भने सहजै अनुमान गर्न सकिन्छ । पोखराको भैरवटोलस्थित एक ढुङ्गे धारामा रहेको शिलालेखमा १९६२ साल फागुनमा जन्म भई १९७६ साल असारमा परलोक भएका बाल शम्शेरको स्वर्गवास होस् भन्दै १९७७ मा धारा निर्माण सम्पन्न भएको उल्लेख छ ।

तत्कालीन समयमा समाजसेवाका साथै विभिन्न सन्दर्भ एवं व्यक्तिको स्मृतिमा ढुङ्गेधारा, कुवा तथा पोखरी बनाइदिने प्रचलन रहेको बुढापाका बताउँछन् । पोखराका केही ढुङ्गेधारामा विसं २०२०/२२ सम्म पानी आउने गरेको भए पनि त्यसपछि संरक्षणको अभावमा पानी आउन बन्द हुनुका साथै लोपै हुने अवस्थामा पुगेको नालाको मुखका स्थानीयवासी टेकलाल श्रेष्ठले बताए ।

‘तत्कालीन समयमा नालाको मुखका रहेको पोखरीकै कारण पोखरा नाम रहन गएको हो,’ उनले भने, ‘पोखरा आसपासका स्थानीयवासीले त्यही पोखरीको नाम लिँदै आउँने क्रमसँगै यस शहरको पोखरा नाम रहनगएको जनजिब्रोमा प्रचलित छ ।’

पोखराकै नामसँग प्रत्यक्ष जोडिएको नालाको मुखको पोखरी अहिले पूर्णरुपमा नै लोप भइसकेको उनले बताए । नालाको मुखको पोखरीसहित पोखरा आसपासका धारापानीस्थित खुँडे पोखरी, जयमूल पोखरी, अँधेरीकुना पोखरी, कूल बाँध पोखरी जस्ता पोखरी पूर्णरुपमा लोप भइसकेको उनको भनाइ छ ।

प्राचीन इतिहाससँग जोडिएका धारा, पोखरी, चौताराजस्ता कुरालाई राज्यस्तरबाटै संरक्षणको पहल गर्नुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...