सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने : मन्त्री ज्ञवाली

Pradip g

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने बताए ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले विकास र समृद्धिका लागि सहयोग जुटाउन मित्र राष्ट्रको उच्चस्तरीय भ्रमणले वातावरण बनाउने विश्वास व्यक्त गरेका हुन ।

“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङलाई आमन्त्रण गर्ने गृहकार्य अब छिट्टै शुरु हुन्छ, चिनियाँ राष्ट्रपति पिङलाई सन् २०१६ मै निमन्त्रणा गरिएको थियो, सरकार परिवर्तन भएका कारण उनको भ्रमण हुनसकेन, यसपटक अमेरिका, बेलायत, जापानलगायत राष्ट्रबाट पनि उच्चस्तरीय भ्रमण गराइनेछ”–उनले भने ।

गत महिना पाकिस्तानी प्रधानमन्त्रीले गर्नुभएको भ्रमण सद्भाव र रोकिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सम्मेलन गर्ने विषयमा केन्द्रित भएको मन्त्री ज्ञवालीले बताए ।

गम्भीर मानवीय संकट उत्पन्न हुने गरी सिरियामा शक्ति राष्ट्रको स्वार्थका कारण भएको युद्धमा बालबालिकासमेत शिकार बनेकाले युद्धविराम हुनुपर्ने सरकारी धारणा पनि उनले सार्वजनिक गरे ।

“संयुक्त राष्ट्र संघीय शान्ति सेनामा नेपालले पु¥याएको योगदान अनुसार पहुँच पुग्नसकेको छैन, शान्ति सेना पठाउने देशमा नेपाल छैटौँ, सातौँमा पर्छ, त्यस अनुसारको भूमिकाका लागि मेरो कार्यकालमा यसलाई उठाउने प्रयास गर्नेछु”–मन्त्री ज्ञवालीले भने ।

नेपाली भूमिलाई कुनै मित्रराष्ट्रविरुद्ध प्रयोग हुननदिने उनको प्रतिबद्धता थियो । भारत र चीनबीच नेपालको सम्बन्ध एक अर्काको विकल्पका रुपमा नभइ आवश्यकताका आधारमा हुने नीति मन्त्रालयले अख्तियार गर्ने परराष्ट्रमन्त्रीले बताए । नेपाल अध्यक्ष राष्ट्र भएकाले सार्क सम्मेलन गराउन पहल गर्ने कामलाई पनि प्राथमिकता दिइने उनले सुनाए । अन्तर्राष्ट्रियमञ्च बिम्स्टेक लगायतमा नेपालको उपस्थितिलाई बलियो बनाइने मन्त्री ज्ञवालीको प्रतिबद्धता छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...