हत्या आरोपमा तीन पक्राउ
विराटनगर । उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए ।
हत्यामा संलग्न भएको ठानिएका काभ्रे जिल्लाको मण्डन देउपुर गाउँपालिका बस्ने २९ वर्षीय टेकराज मल्ल, मोरङको उर्लाबारी–७ बस्ने ३३ वर्षीय नरेन्द्र कार्की र उर्लाबारी–५ बस्ने मोहन काफ्लेलाई दुई वटा गाडीसहित नियन्त्रणमा लिइएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकु, काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त प्रहरी टोलीले फागुन १९ गते विराटनगर–३ स्थित गोधली मार्गमा शंकास्पद रुपमा दक्षिणबाट उत्तरतर्फ गइरहेको बा१२च ५९६३ नंको सेतो रङको स्कारपियो गाडी र सोही गाडीको पछाडि रहेको मे१च ५३९५ नं टाटा जेनोनलाई रोकी जाँच गर्दा स्कारपियो गाडीमा मृतक शाक्यको शव भेटिएको थियो । उक्त शवसँगै करेन्ट लगाउन प्रयोग गरिएका तार जोडिएका ब्याट्रीसमेत फेला पारेको थियो ।
पक्राउ परेका व्यक्तिहरुले आर्थिक लेनदेन तथा एक महिना अगाडि काठमाडौँबाट हराएको वा लुटिएको ३३ किलो ५ सय ग्राम सुनको विषयलाई लिएर शाक्यलाई कुटपिट गरी करेन्ट लगाएर मारेको वयान दिएको प्रहरी उपरीक्षक विसीले जानकारी दिए
प्रतिकृया दिनुहोस