रोल्पालीका भान्छामा अझै ढिकेनून
रोल्पा । नेपाल सरकारले सबैको खानामा अनिवार्य रुपमा आयोडिन नूनको प्रयोग होस् भन्ने उद्देश्य राखे पनि केही रोल्पालीका भान्छामा भने अझै आयोडिन नून पुग्न सकिरहेको छैन । रोल्पामा केही परिवार अझै पनि ढिके नून प्रयोग गर्छन् ।
सरकारले केही वर्ष अघि फेब्रुअरी महिनालाई आयोडिनको प्रचारप्रसारको महिनाको रुपमा मनाउने निर्णय गरेको हो । तर पनि जिल्लाका दूरदराजका जनतालाई आयोडिन नूनको उपयोगिताबारे थाहा छैन भने कतिपयले थाहा हुँदाहुँदै पनि विभिन्न बहानामा ढिके नूनको प्रयोग गर्दै आइरहेका छन् ।
माडी गाउँपालिका ५ भाबाङ रोल्पाका ६५ वर्षीया धनकुमारी पुनले आफ्नो भान्छामा ढिकेनून नै प्रयोगमा रहेको बताउनुभयो । उनले भने “छोराहरु वैदेशिक रोजगारीमा छन् । बुहारीहरु सदरमुकाम बस्छन् । घरमा रहेका बूढाबूढीले ढिकेनून नै प्रयोग गर्छम् । पोके नून भन्दा ढिकेनून सस्तो छ ।” पोके नूनको प्रयोगले गाईबस्तुमा जुम्रा पार्छ र मान्छेको शरीर चिलाउँछ भन्ने भ्रम उनमा रहेको छ ।
सदरमुकाममा बस्दैआएका ७० वर्षीया प्रभा घर्तीमगरलाई पहिलेदेखि खाँदै आएको हुँदा ढिकेनून नै मन पर्छ । छोराछोरीले पोका नून प्रयोग गरेपनि आफूले भान्छा गर्दा ढिकेनून नै प्रयोग गर्ने गरेको उनले बताइन ।
साविकको थबाङ गाविस ७ तेलखोला रोल्पाका २९ वर्षीया जीना घर्तीमगरलाई भने पोका नून मन पर्छ तर भौगोलिक विकटताका कारण उनको गाउँमा ढिकेनून भन्दा पोका नून करिव दोब्बर मूल्यले महंगो पर्छ । गाउँमा ४० रुपैयाँ प्याकेटका दरले आयोडिनयुक्त प्याकेटको नून पाइने भएपछि उनले नचाहेर पनि ढिकेनूनको प्रयोग गर्दै आइएको छ ।
यस्तै, सुनछहरी गाउँपालिका ३ रोल्पाका २५ वर्षीया बेगम बूढामगरका अनुसार उनको गाउँमा पछिल्लो पुस्ताले आयोडिन नूनको प्रयोग गरेपनि अघिल्लो पुस्ताले भने ढिकेनून नै प्रयोग गर्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले ढिके तथा खुल्ला बेचिने नूनबाट पर्याप्त मात्रामा आयोडिन पाउन नसकिने भएकाले त्यस्ता नून प्रयोग नगर्न सरोकारवाला सबैसँग अनुरोध गरे । आयोडिन पाउन दुई बालबालिकाको चिन्ह भएको पाकेटको धुलो नून नै प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।
उनका अनुसार आयोडिनयुक्त नूनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने, आयोडिनयुक्त नून नपखाली खाने, आयोडिनयुक्त नूनलाई दाल, तरकारी पाकेपछि मात्र हाल्ने तथा नून किन्दा अनिवार्य रुपमा नूनको पाकेटमा लेखिएको कुरो एकपटक सर्सती पढ्ने बानीले आयोडिनको कमी हुनबाट बच्न सकिन्छ ।
यता, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय रोल्पाका डिपो प्रमुख बसन्त थापाका अनुसार गत आवमा अञ्चल कार्यालय नेपालगञ्जबाट डिपो कार्यालय रोल्पामा एकहजार ६०० क्विन्टल आयोडिनयुक्त पोका नून भित्रिएको थियो । यसमध्ये गत आवमा ६ सय ८८ क्विन्टल मात्र बिक्री भएको थियो ।
गत आवको नून हालसम्म पनि बिक्री वितरण भइरहेको छ । कार्यालयले प्रतिव्यक्ति १० पोका मात्र दिने गरेको छ । व्यापारीले दुरुपयोग नगरुन् र सेवाग्राहीले प्रत्यक्ष लाभ लिन सकुन् भन्ने उद्देश्य राखिएको भएपनि सेवाग्राहीले डिपो कार्यालयमार्फत लाभ लिन नसकिरहेको उनको भनाइ छ ।
डिपो कार्यालयका सहायक समृद्धि थापाका अनुसार सेवाग्राहीले एक पटकमा २०/२५ पोकासम्म लिन चाहेपनि १० पोका भन्दा बढी दिन नसकिने भएपछि कार्यालयबाट सोचेअनुरुप आयोडिनयुक्त पोका नून बिक्री वितरण हुन सकिरहेको छैन । उनले पनि दूरदराजका जनताले अझै ढिकेनून प्रयोग गर्दै आएको बताए ।
प्रतिकृया दिनुहोस