७५ प्रतिशत अनुदानमा किसानलाई किबी
नुवाकोट । बेलकोटगढी नगरपालिकाका किसानलाई किबी खेतीमा आकर्षित गराउन नगरपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेको छ ।
नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो ।
चिनी रोग र उच्च रक्तचापका बिरामीलाई उपयोगी हुने यो फल ३५० प्रतिकिलो ग्रामका दरले बिक्री हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बागवानी विकास अधिकृत छविलाल शर्माले जानकारी दिए ।
नगरपालिकाले नगर क्षेत्रमा २ हजार २ सय किबीको विरुवा यस वर्ष वितरण गर्ने योजना अघि सारेको छ । वडा नं ९ मा २५० बोट बिरुवा एकै व्यक्तिले रोपेको र सामूहिक रुपमा पनि किबी खेती शुरु भएको अधिकृत शर्माले बताए ।
उक्त नगरपालिकाको वडा नं १, ९, ११, र ४ नं वडाको माथिल्लो भेगमा किबी खेती विस्तार गरिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताए । नगरपालिकाले किबी खेतीका लागि यस वर्ष ३ लाख बजेटसमेत विनियोजन गरी कार्यक्रम अघि बढाएको छ ।
प्रतिकृया दिनुहोस