फोरम र राजपाबीच यस्तो बन्यो सहमति, फोरमलाई मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालय
काठमाडौं । प्रदेश नं. २ मा संघीय समाजवादी फोरमले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालय पाउने भएको छ ।
हालै जनकपुरमा भएको दुई दलका शीर्ष नेताहरुको वार्तामा मिलेर सरकार बनाउन सहमत भए पनि पद भागवण्डा मिलेको थिएन । राजपाले मुख्यमन्त्रीमा आलोपालो गर्नुपर्ने, नभए सभामुखसहित प्रमुख मन्त्रालयहरु आफूले पाउनुपर्ने माग राख्दै आएको थियो ।
तर, शनिबार राजपा केही लचिलो भएपछि सहमति जुटेको छ । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले यो सहमति ५ वर्षे कार्यकालका लागि भएको बताए ।
यो सहमतिसँगै फोरमका संसदीय दलको नेतामा लालबाबु राउत मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । फोरमको कार्यालय तीनकुनेमा शानिबार भएको वार्तामा फोरमले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालय पाउने सहमति बनेको छ । फोरमको २९ सांसद छन् ।
शनिवारको सहमति अनुसार फोरमले अन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउने छ ।
राजपाले सभामुखसहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ । प्रदेशसभामा रापपाको २५ सांसद छ ।
फोरम र राजपाले प्रदेश २ को प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन बनाएर चुनाव लडेका थिए ।
प्रतिकृया दिनुहोस