११ वर्षपछि चमेलियाको विद्युत् उत्पादन शुरु, प्रधानमन्त्री देउवाद्धारा उद्घाटन

राष्ट्रिय प्रसारण लाइनमा थपियो ३० मेगावाट विधुत

Chameliya

दार्चुला । स्वदेशी लगानीबाट निर्माण गरिएको सुदूर पश्चिमाञ्चलमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । यस अायोजनाले ३० मेगावाट विधुत उत्पादन गर्ने छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार दार्चुला पुगेर आयोजनाको औपचारिक उद्घाटनका गरेका छन् । प्रधानमन्त्री देउवाले उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन थालेको हो । 

आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन शुरु गर्नेछ । 

शैल्यशिखर नगरपालिका १ बलाचमा निर्माण भएको उक्त आयोजनाले पुस महिनाको २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छभने दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन शुरु गरेको थियो ।

सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । 

ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको छ ।  आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । 

प्रतिकृया दिनुहोस