इन्धन भण्डारण प्रकरण : मुद्दा तामेलीमा राख्न चलखेल
काठमाडौं । इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि त्यसमा संलग्न नेपाल आयल निगमका अधिकारीहरूले उन्मुक्ति पाउन चलखेल गर्न थालेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायत अधिकारीले बिचौलियासँगको मिलेमतोमा करोडौं रुपैयाँ घोटाला गरेको भेटिएपछि कारबाहीबाट बच्न आयोगका अधिकारीलाई प्रभावित पार्ने प्रयास थालेको अख्तियार स्रोतले बताएको छ ।
आरोपित करिब तीन सयजनासँग बयान लिएर छानबिन निष्कर्षउन्मुख बनाएको अनुसन्धान टोलीले यसैसाता अख्तियार प्रमुख दीप बस्न्यातलाई ब्रिफिङ गरेको थियो । कति बिगो दाबी गर्ने निष्कर्षमा नपुगेको भए पनि भ्रष्टाचारमा संलग्नलाई मुद्दा चलाउनुपर्ने राय अनुसन्धान टोलीले प्रमुख आयुक्तसमक्ष पेस गरेको छ । अनुसन्धान टोलीले प्रमुख आयुक्तसमक्ष यस्तो राय प्रस्ताव गरेका सूचना पाएपछि खड्काले मुद्दा नचलाईकन ‘तामेली’ मा राख्न सक्रियता बढाएका हुन् ।
उच्च राजनीतिक नेतृत्व, शक्ति दलाल समूह र आयोगकै आयुक्तसँग हिमचिम भएका खड्काले प्रमुख आयुक्त बस्न्यात र अर्का आयुक्त नवीन घिमिरेलाई प्रभावित पार्ने प्रयास गरिरहेको अख्तियार स्रोतले बतायो । खड्काले विगतमा बस्न्यात नातामा सम्धी पर्ने बताउँदै आएका थिए । अख्तियारकै अर्का आयुक्त घिमिरेसँग पनि खड्काको ‘कनेक्सन’ छ । घिमिरेलाई आयुक्त बनाउन लबिङ गर्ने शक्ति समूहले पनि खड्कालाई बचाउन सक्रियता बढाएको छ ।
खड्काले कार्यकाल सकिएर यही माघ २९ गते अवकाश हुन लागेका प्रमुख आयुक्त बस्न्यातलाई प्रभावमा पारेर मुद्दा ‘तामेली’ मा राख्न अन्तिम प्रयास गरिरहेको स्रोतको दाबी छ । ‘आयोगको अनुसन्धान टोलीले निगमलाई जग्गा किन्दा भ्रष्टाचार गरेको तीन सय पृष्ठको प्रतिवेदन तयार गरिरहेको छ,’ स्रोतले भन्यो, ‘तर, प्रमुख आयुक्तमाथि मुद्दा नचलाउन दबाब छ ।’
उक्त मुद्दा प्रमुख आयुक्त बस्न्यात र अर्का आयुक्त गणेशराज जोशीले हेरिरहेका छन् । निगमको मुद्दामा नरम देखिएका बस्न्यात अवकाश लिने बेलामा त्यसलाई टुंगाएर जाने सोचमा थिए । ‘चौतर्फी चासो भएको मुद्दा तामेलीमा राख्दा बद्नाम भइने डरले उहाँ खुल्नुभएको छैन,’ एक आयुक्तले भने । जग्गा खरिदमा खड्कालगायतले अनियमितता गरेको ठहर संसदीय समिति र विभागीय मन्त्रालयले गरिसकेका छन् । नागिरक दैनिकबाट
प्रतिकृया दिनुहोस