प्रदेश राजधानी माग्दै वीरगञ्ज बन्द, जनजीवन कष्टकर
वीरगन्ज । वीरगन्जलाई प्रदेश नं. २ को राजधानी बनाउन माग गर्दै वीरगन्ज बन्द गरिएको छ ।
राजधानीको माग राख्दै झण्डै डेढ महिनादेखि निरन्तररुपमा आन्दोलन गर्दै आइरहेको वीरगन्ज राजधानी संघर्ष समितिले आइतबार भने वीरगञ्ज बन्द गरेको छ ।
बन्दका कारण बिहानैदेखि लामो र छोटो दूरीका सवारी साधनहरु चल्न सकेका छैनन् भने वीरगन्जको बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । बिहानैदेखि आन्दोलनकारीहरु चोक चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कारण यहाँको जनजीवन प्रभावित भएको छ । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले आदर्शनगर र घण्टार चोकमा गरी २ वटा नीजि गाडीमा तोडफोड गरेका छन् ।
अहिले प्रदर्शनकारीहरुले वीरगन्जको घण्टाघर, माइस्थान , मुर्ली , पावर हाउस चोक, प्रतिमा चोक, नगवा, बहुअरी लगायतका स्थानमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
माघ ३ मा सरकारले जनकपुरलाई अस्थायी राजधानी तोकेपछि आन्दोलन चर्काएको वीरगन्ज राजधानी संघर्ष समितिले यसअघि माघ ४ मा पनि वीरगन्जमा बन्द गरेको थियो ।
पुष २१ देखि निरन्तर चलिरहेको रिले अनशन सहितको आन्दोलनका भावी कार्यक्रम तय गर्न आइतबार बेलुकी संघर्ष समितिको बैठक बस्ने र त्यही बैठकले आन्दोलनका सशक्त कार्यक्रम घोषणा गर्ने संघर्ष समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस