प्रदेशसभाको बैठकले रौनकता थपिँदै सात प्रदेशमा
काठमाडौं । सरकारले ३ माघमा सात प्रदेशका अस्थायी राजधानी तोकेपछि कतै विरोध भयो त कतै खुसीयालीमा दिप बालियो । अझैं धनकुटा, डोटी लगायतका जिल्लामा विरोधका स्वर गुञ्जिरहेका छन् । तथापि प्रदेशसभाको बैठक बस्ने दिन नजिकिँदै गर्दा प्रदेशका केन्द्रहरुमा रौनकता थपिएको छ ।
सरकारले पहिलो बैठक बस्नेगरी अस्थायी राजधानी तोकेको भए पनि अहिले सात प्रदेशका अस्थायी राजधानी तोकेपछि अहिले बैठक बस्ने स्थल सिंगारपटार गर्न थालिएको छ । कर्मचारीहरु बैठक स्थल राम्रो बनाउन व्यस्त देखिएका छन् ।
सातै प्रदेशसभा सदस्यले माघ ७ गते नै पद तथा गोपनीयताको सपथ लिइसकेका छन् । अघिकां प्रदेशले पहिलो बैठकको मितिसमेत घोषणा गरिसकेका छन् । यसै साताभित्र सबै प्रदेशसभाको पहिलो बैठक बस्ने तयारी तिब्र रुपमा भइरहेको छ ।
प्रदेशसभा सञ्चालन र आवश्यक तयारीका लागि केन्द्र सरकारले सचिव, सहसचिवलगायत संघीय सचिवालयका कर्मचारीसमेत सबै प्रदेशमा पठाइसकेको छ ।
प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने सभा भवनको मर्मत जारी छ । विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभा भवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्नेछ ।
यहाँ बैठक हुने भवनको रंग रोगन र आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको छ । सार्थ कार्पेट बिछ्याउने काम पनि भइरहेको छ ।
प्रदेश नम्वर २ को पहिलो बैठक जनकपुरको कुवा रामपुरस्थित शैक्षिक तालिम केन्द्रको सभाहलमा बैठक बस्नेछ । यहाँको प्रदेश सभा केन्द्रीय संसद्को जस्तै बनाउने बताइए पनि बैठक बस्ने दिन नजिकिँदै गर्दा बैठक कक्ष तयार भइसकेको छैन । मंगलबार भुइँमा इँटा ओछ्याएर ढलान गरिएको छ ।
प्रदेश ३ को पहिलो बैठक हेटौडाको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा बस्दैछ । बैठकका लागि भवनको रंगरोगन र सजावटको काम भइरहेकोे छ । प्रदेश नम्वर ४ को बैठक पोखरा नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा बस्दै छ । सभाभवन बाहिरदेखि भित्रसम्म झकिझकाउ पारिँदै छ ।
त्यसैगरी प्रदेश नम्वर ५ को पहिलो बैठक बुटवलमा बस्दैछ । बुटवलमा तुलनात्मक रूपमा भौतिक पूर्वाधार पर्याप्त छ । प्रदेश नं. ६ को सुर्खतस्थित सिँचाइ डिभिजन कार्यालयको भवनमा बस्दै छ । भौतिक संरचनाको व्यवस्थापन गर्ने कार्य चलिरहेको प्रदेश सचिवालयले जनाएको छ ।
प्रदेश नं. ७ को पहिलो बैठक धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा बस्दै छ । यहाँ भौतिक पूर्वाधार व्यवस्थापनको कार्य भइरहेको छ । बैठक बस्ने जिल्ला समन्वय समितिको हलमा सत्तापक्ष र प्रतिपक्ष बस्ने छुट्टाछुट्टै व्यवस्थित ठाउँ, टेबुल, स्तरीय साउन्ड सिस्टम लगायतको व्यवस्थापन गर्न तयारी भइरहेको सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस