प्रादेशिक राजधानी धनकुटा बनाउन पहल गरिने
काठमाडौँ । विभिन्न दलका नेता तथा प्रदेश सदस्यले प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रादेशिक राजधानी धनकुटा अभियान समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले संविधानले दिएको अधिकार र सीमा रहेर प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउन आआफ्नातर्फबाट सहजीकरण र सहयोग गर्ने बताए ।
कार्यक्रममा उद्योगमन्त्री सुनिलबहादुर थापाले सबै किसिमले उपयुक्त रहेको धनकुटालाई प्रदेश नं १ राजधानी बनाउन कुनै कसूर बाँकी नराखी सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे ।
धनकुटा क्षेत्र नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्य निरन राई र इन्द्रमणि पराजुली, पूर्वसांसद मनोहरनारायण श्रेष्ठ र नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले धनकुटालाई राजधानी बनाइने आधारपत्र प्रस्तुत गरेका थिए ।
उनीहरुले आन्दोलन भइरहेको क्षेत्र धनकुटामै वार्ता गर्नुपर्ने, त्यहाँको भौतिक संरचनाबारे अध्ययन गर्न प्रतिनिधिमण्डल पुनः पठाउनुपर्ने, आन्दोलनबाट भएको क्षति सरकारले व्यहोनुपर्ने र धनकुटालाई स्थायी राजधानी बनाउनुपर्ने माग प्रस्तुत गरेका थिए ।
सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, काँग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, चौबीसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल, नेकपा एमाले धनकुटाका सचिव सुरेन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका नेता गीता खेवा लिम्बूलगायतले धनकुटालाई स्थायी प्रादेशिक राजधानी बनाउन लाग्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस