जेब्राक्रसिङ बनाउन जुटे कपिलवस्तुका युवा
कपिलवस्तु । कपिलवस्तु जिल्लाका युवाहरु जेब्राक्रसिङ बनाउन आफैँ जुटेका छन् । सडकमा यात्रु तथा सर्वसाधारणलाई बाटो काट्न सहज होस भन्ने हेतुले उनीहरु जेब्राक्रसिङ बनाउन अग्रसर भएका हुन ।
जिल्लाका मुख्य तथा सहायक सडक खण्डमा जेब्राक्रसिङ नभएकाले त्यसबाट हुन सक्ने दुर्घटना न्युनीकरणका लागि युवाहरु लागिपरेका हुन । जिल्लामा सक्रिय चेतनशील प्रतिष्ठानले जिल्लाका ४ नं जितपुर, बनगाई, पिपरा, बोडगाउँ, चप्परगाउँ, बुङची, तल्लो बनगाईस्थित पूर्वपश्चिम राजमार्गमा जेब्राक्रसिङ गराउन सुरु गरेको छ।
‘सवारीसाधन दुर्घटना नियन्त्रणका लागि चेतनशीलको अभियान’ सहित वाणगंगा ८, बनगाईबाट शुक्रबारदेखि सुरु भएको जेब्राक्रसिङ बनाउने अभियान पिपरामा पुगेर टुंगिनेछ ।
पूर्वपश्चिम राजमार्गमा अनिवार्य रुपमा निर्माण गरिनुपर्ने जेब्राक्रसिङ यहाँ भने नभएको र सम्बन्धित निर्माणकर्ताले चासो नदेखाएपछि आफुहरु नै लागिपरेको प्रतिष्ठानका सस्थापक अध्यक्षअरुण भट्टराई (असिम) ले बताए ।
‘पिपरादेखि बनगाई सडक खण्डमा विशेष गरी अत्यधिक मात्रामा दुर्घटना हुने गरेका छन । विद्यार्थीहरु त्यसको सिकार भइरहेका छन त्यसको न्यूनीकरणका लागि यो काम गर्नु जरुरी छ’, उनले भने ।
सडकमा हुने दुर्घटनाको सिकार कोही पनि बन्न नपरोस भनी प्रतिष्ठानले राजमार्गकेन्द्रित रही जेब्राक्रसिङ बनाउन सुरु गरेको हो। यस क्षेत्रमा दुई वटा ठूला क्याम्पस रहेकाले पनि विशेष गरी बिहान र साँझको समयमा सडकमा विद्यार्थीको बाक्लो भिड हुने गर्दछ ।
सडकमा सवारीसाधनको चाप बढ्दै गएको र सर्वसाधारणलाई बाटो वारपार गर्न असहज भएको भन्दै प्रतिष्ठानले सामाजिक भावनाले जेब्राक्रसिङ गराउन सुरु गरिएको प्रतिष्ठानका सचिव नवराज पौडेलले बताए । सडकमा जेब्राक्रसिङ राखिएपछि विशेषतहः विद्यार्थी, बालबालिका र सर्वसाधारण लाभान्वित भएका छन् ।
प्रतिकृया दिनुहोस